छिमेकी मुलुक भारतमा शनिबारदेखि कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ।
खुला सीमा तथा पारिवारिक सम्बन्धसमेत भएका कारण यसअघि जसरी नेपालका लागि कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम भारत नै बनेको थियो, त्यसैगरी अहिले त्यहाँ खोप अभियान सञ्चालन हुँदा यहाँ पनि केही राहत पुग्ने आशा गर्न सकिएला?
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीबाट भर्खरै स्वास्थ्य मन्त्रालय सरुवा भएका डा. वासुदेव पाण्डे भारतमा भ्याक्सिन लगाउन सुरु गरिँदा नेपालमा संक्रमणको जोखिम केही न केही कम हुने आशा गर्न सकिने बताउँछन्।
‘बोर्डरमा त नेपाल-इन्डिया दुवैतिरका मानिस बस्छन्, कतिपय नेपाली बिहारमा खोप लगाउन जालान्,’ आइतबार बिहान नेपालखबरसँगको संक्षिप्त कुराकानीमा डा. पाण्डेले भने, ‘साथै उताबाट नेपला भित्रिनेको संख्या पनि घट्ला।’
यस हिसाबले भारतमा सुरु भएको खोप अभियानले नेपालमा पनि संक्रमणको जोखिम घट्ने सम्भावना देखिएको उनको भनाइ छ।
‘तर त्यो खोप नै कति प्रभावकारी भन्ने प्रश्नचाहिँ फेरि छुट्टै विषय हो,’ उनले भने।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन पनि खुला सीमा र ओहोदोहोर धेरै हुने छिमेकी मुलुकमा खोप लगाउन सुरु गरिँदा नेपाललाई राहत हुने सम्भावना देख्छन्।
‘छिमेकमा संक्रमितको संख्या घटेपछि त यता पनि संक्रमणको जोखिम कम हुन्छ नै,’ डा. पुनले नेपालखबरसँग छोटो कुरा गर्दै भने, ‘त्यो ठाउँबाट लक्षण लिएर आउने बिरामी पक्कै कम होलान्।’
तर उनले पनि भारतमा लगाइएको खोप कति प्रभावकारी भन्ने कुरा छुट्टै विषय भएको बताए।
खोप प्रभावकारी भएका खण्डमा भने भारतमा खोप लगाउनाले नेपालमा पनि संक्रमण घट्ने आशा गर्न सकिने उनी बताउँछन्।
यस्तै डाक्टर पुनले अहिले नेपालमा आफैं प्राकृतिक रुपमै पनि कोरोना संक्रमणको गति केही कम भएको महसुस गरेका छन्।
‘ठ्याक्कै भन्न त यसको अध्ययन नै गर्नुपर्ने हुन्छ,’ डाक्टर पुनले भने, ‘तर अन्य मुलुकको अनुभव हेर्दा अहिले नेपालमा पनि संक्रमण केही न केही मत्थर भएको अनुमान गर्न सकिन्छ।’
उनका अनुसार कुनै पनि महामारी सधैँ एकै गतिमा रहँदैन। एउटा उत्कर्षमा पुगेपछि त्याे पुन: तल झर्छ। यसअघिका स्वाइन फ्लु, हैजालगायतका महामारीले पनि यस्तै देखाएकाे डा. पुनकाे भनाइ छ।
‘अहिले अलि मत्थर भएको हो कि भन्ने मेरो व्यक्तिगत विश्लेषण हो, तर अहिले पनि दैनिक तीन/चार सयको संख्यामा संक्रमित देखिइरहेकाले जोखिम हटिसकेको छैन,’ उनले भने, ‘बरु पछिल्लो समय देशमा बढिरहेको सभा, जुलुसले फेरि महामारीकाे अर्काे लहर सुरु हुने हो कि भन्ने चिन्ता बढाएको छ।’
याे पनि : भारतमा कोरोनाविरुद्ध खोप अभियान : पहिलो दिन २ लाख जनाले लगाए, केहीमा एलर्जी देखियो
Shares

प्रतिक्रिया