समाज


मुटु कमाउने जाडोले तराईको जनजीवन कष्टकर, एक सातादेखि देखिएन घाम

मुटु कमाउने जाडोले तराईको जनजीवन कष्टकर, एक सातादेखि देखिएन घाम

नेपालखबर
माघ ४, २०७७ आइतबार ४:१६,

महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएको छ।

पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो।

गत पुस २७ गतेयता तराईका जिल्लामा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन्।

‘बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्’, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले भने, ‘अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, पmूल र कोसा पनि कक्रक्क परेका छन्। बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताउँछन्।

कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था आएपछि चिन्तित छन्।

लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा बिरामी जस्ता देखिन थालेपछि पशुपालक किसान चिन्तामा छन्। ‘न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ,’ जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छन्, ‘यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न।’

आफ्ना गोठका सात भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको दाहालले बताए।

लगातार मौसम चिसिँदै जाँदा बजामा चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ । मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनै पर्ने भएपछि मूल्यको मारमा परेको उपभोक्ताको गुनासो छ।

यता लगातारको चिसोले बस्ती/बस्तीमा बिरामी हुनेको सङ्ख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी ह्वात्तै बढेका छन् । खासमा गरिब बस्तीका वृद्धवृद्धा, स–साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विधानचन्द्र झा बताउँछन्।

चिसो बढ्दै जाँदा यसबाट घरका परिवारजनलाई ठिक राख्नु पहिलो प्राथमिकता भएको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । विनाप्रयोजन घर बाहिर ननिस्कने, खानेकुरामा गेडागुडीको तातो झोल, तातोपानी र ताजा खानेकुरा खाने, धुँवा ननिस्कने दाउराको आगो ताप्ने, न्यानो ठाउँमा बस्ने र न्याना लुगा लगाएर चिसोबाट हुने मानवीय क्षति बढ्न दिनबाट जोगाउन सकिने स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए।

यसैगरी घरपालुवा पशुवस्तुलाई पनि घरकै ढुटोपिठो पानीमा मिसाएर तताएर दिने, आङमा बोराचट्टी ओढाएर न्यानो गोठमा राख्ने, गोठ निरन्तर सफा राख्ने र घरवरपरकै पराल, भुसमा दाना मिसाएर ख्वाउने गरे चिसोबाट हुने पशु क्षति घटाउन सकिने जिल्लाका पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीको सल्लाह छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad