पूर्वमन्त्री तप्तबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएको छ।
पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको युफाेर ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो। जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
अपरान्ह ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराए लगत्तै अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको थियो।
विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य जाँचपछि अवस्था सुधारउन्मुख रहेको रूपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले नेपालखबरलाई जानकारी दिए।
उनले केही समयअघि मात्र न्युरोसम्बन्धी अप्रेशन गरेकाले समस्या देखिएको चिकित्सकलाई उदृत गर्दै एसपी थापाले जानकारी दिए। 'उहाँको मुटुको अवस्था सामान्य छ। थप उपचारका लागि काठमाडौँ लाने तयारी भइरहेको छ', एसपी थापाले भने।
चिकित्सकहरूले स्वास्थ्य जाँचपछि उनलाई पहिला गरेकाे अप्रेशनकाे साइड इफेक्ट देखिएकाे प्रतिवेदन दिएका छन्।
दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी विष्ट शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका थिए। २०७४ को निर्वाचनमा सुर्खेत २ प्रदेश ‘ख’ बाट कांग्रेस उम्मदेवार रहेका उनी तत्कालीन माओवादीका विन्दमान विष्टसँग पराजित भएका थिए।

प्रतिक्रिया