मेनपावरहरुले वैदेशिक रोजगारीमा जानेसँग बढी पैसा असुलेको गुनासो बढेपछि सरकारले कार्यविधि बनाएर अनुगमन थालेको छ। सोही क्रममा आइतबार ललितपुरको कुपण्डोलमा रहेको प्याराडाइज इन्टरनेशनल मेनपावर प्रालिमा छापा मारेको हो।
सरकारले तोकेभन्दा बढी रकम असुलेको उजुरीपछि सरकारी अनुगमन टोलीले छापा मारेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार दुवई काम गर्न जान लागेका युवासँग मेनपावरले बढी रकम मागेको थियो। आइतबार अनुगमनमा विभागका अधिकृत कुशल बरालको नेतृत्वमा अनुगमन भएको हो। दुवईको एक कम्पनीमा क्लिनरका रुपमा जान लागेका तनहुँका युवासँग १ लाख १५ हजार रुपैयाँ लिएको अनुगमनसँगै खुलेको छ। हाल फ्रि भिसा फ्रि टिकटको व्यवस्था भए पनि १० हजार सेवाशुल्क मेनपावर व्यवसायीले लिन पाउँछन् तर प्याराडाइजले भने कयौँ गुणा असुलेको खुलेपछि उसको कागजात नियन्त्रणमा लिइएको छ।
के छ कार्यविधिमा?
सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न र वैदेशिक रोजगारीसम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्न भन्दै अनुगमन टोली परिचालन कार्यविधि २०७६ कार्यान्वयनमा ल्याएको हो। वैदेशिक रोजगार विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ। कार्यविधिअनुसार विभागले शनिबार वा विदाको दिनसमेत कुनै पनि मेनपावरमा छापा मार्न सक्नेछ। कार्यविधिमा उल्लेख भएअनुसार आकस्मिक रुपमा विभागका महानिर्देशकको आदेशअनुसार तत्कालै अनुगमन टोली परिचालन हुनेछन्।
त्यस्तै अनुगमन टोलीले अनुगमनको प्रक्रियामा आवश्यक पर्ने कागजात, सुरक्षा बल, जफत गरिने कागजात विभागसम्म पुर्याउन सवारी साधनको व्यवस्थापन गर्ने, सम्बद्ध कागजातहरुको विश्लेषण गरी अनुगमन गर्नुपर्ने संस्था विभागको क्षेत्राधिकारभन्दा बाहिर देखिएमा वा नेपाल सरकारका अन्य निकायको समन्वय आवश्यक पर्ने देखिएमा समन्वयका लागि आवश्यक वार्ता तथा पत्राचार गर्ने, विभागको कार्यक्षेत्र भन्दा अन्य प्रचलित नेपाल कानूनबाट कारवाही प्रभावकारी हुने देखिएमा थप छानविन एवं परीक्षणका लागि सो क्षेत्रको विभाग वा सम्बन्धित कार्यालयमा पठाउन सिफारिस गर्ने, टोली पुगेको स्थान र गतिविधि सम्बन्धमा नियमित रूपमा महानिर्देशकलाई तत्कालै मौखिक जानकारी गराउने, आकस्मिक अनुगमनका लागि प्रहरी (आवश्यकतानुसार सशस्त्र प्रहरी समेत) साथमा लैजानेछ।
त्यस्तै, कार्यस्थलमा थप सुरक्षाकर्मी आवश्यक पर्ने भएमा तत्काल खटिएको स्थानको नेपाल प्रहरीको नजिकको इकाईबाट थप मद्दत मागी परिचालन गर्ने र सोको जानकारी महानिर्देशकलाई गराउने, टोली प्रमुखको निर्देशनमा रही मातहत कर्मचारीहरु एवं प्रहरीहरुले आफ्नो कार्यसम्पादन गर्ने, टोलीले आफूले गरेको कामको प्रारम्भिक प्रतिवेदन अनुगमन गरेको २४ घन्टाभित्र र अन्तिम प्रतिवेदन कार्यसम्पन्न गरेको तीन दिनभित्र महानिर्देशकसमक्ष पेश गर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया