समाज


शनिबारदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान थाल्न भारतको यस्तो छ तयारी

शनिबारदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान थाल्न भारतको यस्तो छ तयारी

नेपालखबर
पुस २६, २०७७ आइतबार ४:१४,

यही जनवरी १६ अर्थात् आउने शनिबारदेखि आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने बताएको भारतले अहिले त्यसका लागि धमाधम तयारी गरिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलगायत कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्ति (फ्रन्टलाइन) मा खटिएका ३ करोड जनालाई खोप दिने तयारी छ।

यसपछि ५० वर्षभन्दा माथि उमेरका तथा उमेर योभन्दा कम भए पनि विभिन्न रोगले ग्रस्त नागरिकलाई खोप दिइने मन्त्रालयले जनाएको छ। भारतमा यस्ता व्यक्ति २७ करोड रहेको अनुमान छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले यो घोषणा आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको कोरोना महामारीबारे समीक्षापछि गरेको हो।

निर्धारित प्रोटोकलअनुसार सबैभन्दा पहिले स्वास्थ्यकर्मी/चिकित्सक, महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रमा खटिएका व्यक्तिलाई खोप दिइनेछ। यस्ता व्यक्तिको संख्या भारतमा ८० लाखदेखि एक करोडसम्म रहेकाे अनुमान छ।

त्यसपछि अर्काे चरणमा झन्डै २ करोड संख्यामा रहेका अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मी, सफाइ कर्मचारीलाई खोप लगाइने भारत सरकारले जनाएको छ।

भारतस्थित ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले कोरोनाविरुद्ध दुई किसिमका खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। ती दुई खोप हुन्- कोभिडसिल्ड र कोभ्याक्सिन।

कोभिडसिल्ड खाेप खासमा अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेका हुन्, जसको उत्पादन भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले गरिरहेको छ। यसैकारण भारतले यसलाई ‘स्वदेशी खोप’का रूपमा लिएको छ।

यस्तै कोभ्याक्सिन भने भारत बायोटक कम्पनी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) मिलेर उत्पादन गरिरहेका छन्।

नेपालका लागि पनि खुसीकाे कुरा

नेपालसँग सीमा जोडिएको भारतमा खोप लगाउने अभियान सुरु गर्ने तयारी हुनु नेपालका लागि पनि खुसीको कुरा हो। किनकि नेपालले पनि भारतबाटै खोप आपूर्ति गर्ने कुरालाई प्राथमिकता दिएको छ।

त्यहाँबाट १ करोड २० लाख डोज खोप ल्याउन नेपाली अधिकारीले खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेक तथा भारत सरकारका अधिकारीसँग छलफल गरिरहेका छन्।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आउने माघ १ गते भारत भ्रमणमा जाने तयारी छ। भ्रमणको प्रमुख एजेन्डा कोरोनाविरुद्धको खोप नै हुने सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad