पशुपतिनाथको मन्दिर आज (आइतबार) बन्द हुने भएको छ। शनिबार रातभर धनुर्मास पूजा गरिएकाले आज दिनभर मन्दिर बन्द गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो।
‘हिजो धनुर्मास पर्व थियो। रातभर मन्दिरमा पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुनेछ,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने, ‘अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ।’
१ पुसदेखि पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि खुला गरिएको हो। हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म मन्दिर खुला गर्ने गरिएको छ। खतिवडाका अनुसार धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम छ।
पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा छ। शनिबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका कोषले जनाएको छ।

प्रतिक्रिया