डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका-५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय (डोटी)का प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार स्थानीय ५० वर्षीय जंगे भुलले भरुवा बन्दुकले हानेको गोली लागेर सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो।
शनिबार राति १०ः४५ बजेतिर सलामी डाँडावनमा आएका जंगली जनावर धपाउन गोली हान्दा तपेशको टाउकामा गोली लागेर मृत्यु भएको धामीले बताए।
उनले भने, ‘जंगली जनावर धपाउन हानेको गोली लागेर मृत्यु भएको भन्ने खबर आएको छ, जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी टोली गएको छ, टोली पुगेपछि बाँकी विवरण भन्न सकिनेछ।’
गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया