नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालनका लागि भारतले आज आफ्ना सबै राज्यमा गरिएको तयारी जाँच गर्दै छ। जसलाई खोपको ‘ड्राई रन’ भनिन्छ।
यसबाट खोप अभियानका लागि स्वास्थ्यकर्मीले कतिको तयारी गरेका छन् तथा अझै तालिमको खाँचो छ/छैन भन्ने थाहा हुन्छ।
‘ड्राई रन’बाट खोप लगाउन के कस्ता सुविधा उपलब्ध छन्, खोप लगाउन सर्वसाधारणलाई खोप केन्द्र पुग्न कति समय लाग्छ जस्ता विषयमा पनि जानकारी प्राप्त हुन्छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भारत सरकारले अक्सफोर्डले विकास गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ। जुन खोप भारतकै पुणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ।
आज दोस्रो चरणको ड्राई रन हो। यसअघि यही डिसेम्बर २८ मा असम, आन्ध्र प्रदेश, पन्जाब र गुजरात राज्यमा ड्राई रन गरिएको थियो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ड्राई रनअन्तर्गत सबै खोप केन्द्रमा सबैभन्दा पहिले २५ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइनेछ।
यस क्रममा उनीहरूमा कुनै असर देखिए त्यसको उपचारका लागि गरिएको व्यवस्था दुरुस्त भए/नभएको पनि जाँच गरिनेछ।

प्रतिक्रिया