झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले लेबोरेप १९ वटा र नाईट्रोभेट ५ पत्तासहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको एपीएफ टोलीले मे ४ प ६४४५ नम्बरको मोटरसाइकलमा सवार २७ वर्षीय रोहित हुसेनलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको सशस्त्रले जनाएको छ।
त्यसबेला एपीएफ टोलीले निज हुसेनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेका हुसेनलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
चोरीपैठासीको सामान बरामद
यता, रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ बगाहा सेमरपानी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा, ढोकामा लागाउने चुकुल र प्याज सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले बीआर ०५ के १५१२ र बीआर ०५ एफ ९६४३ नम्बरको भारतीय मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा एपीएफ टोलीले बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका ५ स्थित हर्नियाबाट बरामद गरेको हो।
एपीएफ टोलीले त्यसबेला सामान ल्याउन प्रयोग भएको उक्त दुईवटै मोटरसाइकल समेत बरामद गरेको छ।

प्रतिक्रिया