समाज


जापानमा कमाएको ७१ लाख लिएर पति फरार, न्याय खोज्दै पत्नी प्रहरी कार्यालयमा

जापानमा कमाएको ७१ लाख लिएर पति फरार, न्याय खोज्दै पत्नी प्रहरी कार्यालयमा

नेपालखबर
पुस ७, २०७७ मंगलबार ५:२४,

विदेशको कमाइ कुम्ल्याएर श्रीमान् बेपत्ता भएको भन्दै बागलुङकी एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छन्।

बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराकी सरिता सुवेदी पौडेलले पति प्रेम पौडेलको खोजी गरिदिन सरोकारवालाहरु आग्रह गरेकी हुन्। जापानमा आफूसहित भएर कमाएको ७१ लाख रुपैयाँ लिएर पति बेपत्ता भएको सरिताको भनाई छ।

उनले पतिको खोजी गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङमा आग्रह गरेकी छन्। उनी तीन वर्ष पहिले पतिसँग ‘डिपेन्डेण्ट’ (आश्रित) भिसामा जापान गएकी थिइन्। दुई वर्षसम्म कमाएको ७१ लाख नगद लिएर श्रीमान् फरार भएको भन्दै उनले प्रहरीमा निवेदन दिएकी छन्।

विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए।

बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो। ‘जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिनुभयो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ’, उनले भनिन्, ‘कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो।’ उनले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताइन्।

आफूले सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएपछि सम्भव नभएको उनको भनाई छ। लामो समयसम्म सम्बन्धमा दरार आएपछि उनीहरु एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए। भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ।

श्रीमानले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीको भनाई छ। ‘पछि छलफल भएर सँगै नेपाल फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ। नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिन क्वारेन्टिइन बसेर उहाँ फरार हुनुभयो,’ उनले भनिन्, ‘होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन।’

उनीहरु १३ मंसिरमा नेपाल आएका हुन्। सँगै आएका श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको सरिताले बताइन्।

उनीहरुका आठ वर्षीय एक छोरा छन्। ‘पहिले देवरसँग घरमा रहेको छोरा अहिले माइतीमा राखेकी छु,’ उनले भनिन्। सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमानको हुलिया पठाएको छ।

‘हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन’, प्रहरी निरीक्षक विजय भण्डारीले भने, ‘हाम्रो ‘इन्क्वायरी’ भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छ,।’

यता परिवारका सदस्यले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएका छन्। आफ्नो घर र काम गरेर खान सक्दिनँ भनेर जापानबाट फर्केकी भाउजू घर छाडेर हिँडेको सरीताका देवर राजु पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad