डोटी बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार बडीकेदारका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्राकुमारी बोहरा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, तत्कालीन शिक्षा अधिकृत विवेक देउवा, सबइन्जिनियर दानबहादुर पछेरा, भागरथी निर्माण सेवाका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बमविरुद्ध मुद्दा चलाइएको हो।
ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजस्व रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ। चन्द, बोहरा, जैशी र भट्टविरुद्ध १४ लाख १० हजार २४० बिगो मागदावी गरिएको छ। भागरथी निर्माण सेवा, त्यसका सञ्चालक जोशी र अख्तियार प्राप्त व्यक्ति बमविरुद्ध सामूहिकरूपमा भट्टविरुद्ध १४ लाख १० हजार २४० बिगो कायम गरिएको छ।
शिक्षा अधिकृत देउवा र सबइन्जिनियर पछेराविरुद्ध भने कुनै पनि बिगोको मागदाबी गरिएको छैन। तर भ्रष्टाचार निवारण ऐन कैद र जरिबाना सजायको मागदाबी गरिएको अख्तयारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अख्तियारका अनुसार अध्यक्षसहितको मिलेमतोमा ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननबाट वार्षिकरूपमा ३३ लाख ११ हजार ३४६ रूपैयाँ ८० पैसा बराबरको राजस्व संकलन गर्न सकिने आईई प्रतिवेदनले जनाए पनि अस्वाभाविक घटाएर न्यूनतम ठेक्का ७ लाख मात्र कायम गरी दरभाउपत्र आह्वान गरिएको थियो।
सो ठेक्काको सूचना राष्ट्रिय तथा प्रदेशस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरेको र पहिलोपटक १५ दिने सूचना कार्यालयको सूचना पाटीमा मात्र प्रकाशन गरेको थियो। त्यसबेला कुनै पनि फर्महरूले सिलबन्दी दरभाउपत्र पेस गरेका थिएनन्। पुनः अस्वाभाविक न्यून ३ लाख कायम गर्ने गरी तीनदिने ठेक्का सूचना निकालियो। त्यसमा पनि कसैको दरभाउपत्र पेस नभएपछि जम्मा २ लाख कायम गर्ने गरी तीनदिने सूचना जारी गरिएको अख्तयारको भनाइ छ।
‘पूर्वयोजना बमोजिम अति न्यून मूल्यमा ठेक्का दिने प्रपञ्च मिलाई सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ लगायतको प्रचलित कानुनको प्रतिकूल हुने गरी सूचना प्रकाशन गराई सोही बमोजिम उक्त ठेक्कामा प्रतिस्पर्धा भएको देखाउने गरी तीन वटा नै फर्म उल्लेख गरी भागरथी निर्माण सेवा धनगढी कैलालीले कवोल गरेको दररेट सबैभन्दा बढी भएकोले निज व्यक्ति/फर्मसँग सम्झौता गर्न मनासिव देखिन्छ भनी बदनियतपूर्वक गलत सिफारिस/प्रतिवेदन दिए दिन लगाई भागरथी निर्माण सेवा, धनगढी-५ कैलालीबाट सूचनाको सर्त बमोजिमको परफरमेन्स बोण्ड वा रकम दाखिला नगराई मिति २०७७/९/१ गते देखि २०७८ जेठ मसान्तसम्म सम्झौता कायम रहने गरी मासिक २ लाख ८ हजारका दरले सम्झौता गरे गराएको,’ विज्ञप्तिमा उल्लेख छ।
सम्झौता पत्रमा उल्लेख गरिएको रकम २०७७ पुस १ गतेदेखि २०७८ जेठ मसान्तसम्मको ६ महिनाको हुन आउने रकम १२ लाख ४८ हजार र सरकारलाई भ्याटबापतको रकम १ लाख ६२ हजार २४० गरी १४ लाख १० हजार २४० रूपैयाँ राजस्व रकम हालसम्म पनि राज्य कोषमा दाखिला नगरेको अख्तियारले जनाएको छ।
Shares

प्रतिक्रिया