मोरङमा शनिबार राति भएका दुई छुट्टा छुट्दै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सुन्दरहरैँचा र उर्लाबारीमा शनिबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि गए राति को ३८ प १६६५ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिमल्सिनाले जानकारी दिए। दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्।
त्यसैगरी उर्लाबारी नगरपालिका-८ इटहरा–उर्लाबारी सडक खण्डमा मे ४ प ९२८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते भएका छन्।
Shares

प्रतिक्रिया