भारतको खाेप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले बेलायतकाे अक्सफोर्ड विश्वविद्यालले विकास गरेकाे कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) को आपतकालीन प्रयोगका लागि अनुमति लिन आगामी १५ दिनभित्र नियामक निकायमा आवेदन दिने भएको छ।
सिरमका प्रमुख कार्यकारी अधिकृत अदिर पुनेवालाले खोपको आपतकालीन प्रयोगका लागि १५ दिनभित्र अनुमति माग गर्ने जानकारी दिएका हुन्।
बेलायतका अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर तयार पारेको भ्याक्सिनको उत्पादन भारतीय औषधि कम्पनी सिरमले गरिरहेको छ।
सिरम विश्वमै धेरै भ्याक्सिन उत्पादन गर्ने क्षमताको कम्पनी हो। जसले एक वर्षमा एक अर्ब डोज भ्याक्सिन उत्पादन गर्ने गरेको छ।
नेपालले पनि सिरमबाटै भ्याक्सिन ल्याउन पहल गरिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शनिबार सिरमसहित भ्याक्सिन उत्पादन गर्ने तीन संस्थाको भ्रमण गरेर जानकारी लिएका थिए।
भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै पुनेवालाले भ्याक्सिन वितरण र अन्य व्यवस्थापकीय विषयमा प्रधानमन्त्री मोदीसँग छलफल भएको बताएका छन्।
पुनेवालाका अनुसार भारत सरकारले ३० देखि ४० करोड डोज भ्याक्सिन सिरमबाट लिन खोजेको छ। सिरमले जनवरीसम्म मासिक ५ देखि ६ करोड र त्यस पछि १० करोड भ्याक्सिन उत्पादन गरिने जनाएको छ।
सीईओ पुनेवालाले सिरमले उत्पादन गरेको भ्याक्सिन पहिलो प्राथमिकतामा र दोस्रोमा कोभ्याक्स राख्ने जनाएका छन्।
कोभ्याक्स विकासोन्मुख मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनको पहलमा गठन गरिएको प्लेटफर्म हो। जसमा नेपालसहित ९२ देशले आवेदन दिएका छन्।
कोभ्याक्सले जनसंख्याको २० प्रतिशत १.६ डलरदेखि २ डलरसम्म भ्याक्सिन उपलब्ध गराउने जनाएको छ।
गत बिहीबार नेपाल भ्रमण क्रममा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले पनि भारतमा उत्पादन गरिने भ्याक्सिन प्राप्त गर्ने देशमा नेपाल प्राथमिकतामा पर्ने बताएका थिए।
भारतले अन्य छिमेकी देशलाई पनि भ्याक्सिन प्राप्त गर्ने प्राथमिकतामा राखिने बताइरहेको छ।

प्रतिक्रिया