तनहुँको भानु नगरपालिका-२ स्थित सामुदायिक वनमा थापिएको खोर (पासो) मा चितुवा परेको छ। पासोमा परेको चितुवालाई बिहीबार बिहान नियन्त्रणमा लिइएको छ।
मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेको चितुवालाई नियन्त्रणमा लिइएको सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए। ‘पासोमा परेको चितुवालाई सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ,’ उनले भने।
मजुवा ओख्ले सामुदायिक वनमा थापिएको पासोमा पर्ने यो दोस्रो चितुवा हो। गत वर्ष सोही खोरमा एउटा चितुवा परेको थियो। तनहुँमा खोरमा परेर नियन्त्रणमा आएको यो एघारौँ चितुवा भएको भुजेलले जानकारी दिए।
केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका-२ पौवागाउँमा थापिएको फलामको खोरमा पनि एउटा चितुवा परेको थियो।
तनहुँका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट धेरै बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका पशुपन्छीमाथि पनि आक्रमण गर्ने गरेको छ। रासस

प्रतिक्रिया