आफ्नै छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेका डोटीको केआईसिंह गाउँपालिका ४ का शिक्षक सोपीनाथ भट्टलाई उच्च अदालत दिपायलले थुनामै राख्न आदेश दिएको छ।
भट्ट स्थानीय झिमेमालिका माविका शिक्षक हुन्। उनले आफ्नै विद्यालयकी १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लाग्दै आएको छ। जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले गएको कात्तिक १९ गते आरोपित शिक्षक भट्टलाई तीन लाख रुपैयाँ धरौटीमा तारेखमा छोड्ने आदेश दिएको थियो। जुन आदेशको चर्को आलोचना भएको थियो।
जिल्ला अदालतको आदेशपछि सरकारी वकिल कार्यालय डोटीले छात्रालाई बलात्कार गरी गर्भवती बनाउने शिक्षकलाई धरौटौमा छाड्न नहुने भन्दै उनीविरुद्ध उच्च न्यायालय दिपायल राजपुरमा मुद्दा दर्ता गरेको थियो।
त्यसपछि उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीसहितको इजलासले तीन दिनभित्र सुरुको सक्कल मिसिलसमेत साथै राखी कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो। जिल्ला अदालतबाट प्राप्त मिसिलको अध्ययनपछि उच्च अदालतले बलात्कार आरोपी भट्टलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो।
विद्यालयले आयोजना गरेको वनभोजमा गएका बेला खिचिएका तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै भट्टले आफूलाई पटक–पटक बलात्कार गरेको छात्राको आरोप छ। स्वास्थ्य परीक्षणमा पनि उनको पेटमा गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। छात्रालाई अभिभावकले काठमाडौं लगेर गर्भपतन गराइसकेका छन्।

प्रतिक्रिया