नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन्।
बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगीको आरोपमा पूर्वअध्यक्ष न्यौपानेलाई काठमाडौँको चण्डोलबाट पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले न्यौपानेलाई पक्राउ गरेको बताए।
कलेज प्रशासन तथा त्यसका सञ्चालन सलिल भट्टराईले न्यौपानेविरुद्ध कलेजको रकम हिनामिना र ठगीको आरोप लगाउँदै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका थिए।
न्यौपानेविरुद्ध गत कार्तिक २४ गते ३ करोड ७१ लाख रुपैयाँ ठगीको उजुरी परेपछि पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए।
२०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म गरी न्यौपाने इन्जिनियरिङ कलेजको कार्यकाल अध्यक्ष रहेका थिए ।
न्यौपाने अध्यक्ष रहेकोे बेला २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम गरिएको ब्युरोले जनाएको छ।
कलेजको रकम हिनामिनाको विषयमा परेको उजुरी मिलाउने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई न्यौपानेले ७८ रुपैया घुस दिएका थिए।
सो घुस प्रकरण नेपालखबरले समाचार सार्वजनिक गरेपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । पाठक र न्यौपानेविरुद्धको भ्रष्टचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । न्यौपाने ७८ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रहेका छन् ।
प्रतिक्रिया