समाज


बैतडी बस दुर्घटना: चालक पक्राउ, सवारी ज्यान मुद्दामा कारबाहीको तयारी

बैतडी बस दुर्घटना: चालक पक्राउ, सवारी ज्यान मुद्दामा कारबाहीको तयारी

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ३:४८,

चार दिन अघि बैतडीमा नौ जनाको ज्यान जाने गरी दुर्घटनामा परेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए।

दुर्घटना अनुसन्धानका लागि दोगडाकेदार गाउँपालिका–७ खोचलेक घर भएका बसका चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटना परी घाइते भएका कार्कीलाई माया मेट्रो अस्पताल धनगढीले डिस्चार्ज गरेलगत्तै शनिबार प्रहरीले पक्राउ गरेको हो। ‘उनीमाथि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ,’ अधिकारीले भने, ‘चालकमाथि सवारी ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेका छौँ।’ नियन्त्रणमा लिइएका चालक आफैँ बस धनीसमेत रहेका प्रहरीले जनाएको छ।

यसैबीच दुर्घटनामा ज्यान गुमाउने नौ जनाकै शव प्रहरीले आफन्तलाई बुझाएको छ। दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुईजनाको मृत्यु भएको थियो।

दुर्घटनामा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरीको मृत्यु भएको थियो ।

यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको थियो । मृतक सबैको शव आफन्तलाई बुझाइएको हो।

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढीमा उपचार भइरहेको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा भएको छलफलमा पवनदूत अटो मेनेजमेन्ट प्रालिले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराएको हो।

यो पनि बिहीबार राति बैतडीमा बस सडकबाट खस्यो, ८ जनाको मृत्यु, ४० भन्दा धेरै यात्रु घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad