सरकारले कोरोना भाइरस (कोभिड-१९)को बिमा गरेका व्यक्तिको उपचार खर्च नबेहोर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ को बिमा गरेका व्यक्तिको सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नब्यहोरी निजको बिमा रकमबाट ब्यहोरिने जानकारी दिए।
कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च मात्रै सरकारले बेहोर्ने उनले बताए।
सर्वोच्च अदालतको आदेशपछि यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो।
यसअघि सरकारले विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो।
अहिले पनि सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफैँ योगदान गर्न सक्ने अधिकारीले बताए। रासस

प्रतिक्रिया