कोरोना भाइरसविरुद्ध अहिले विश्वका विभिन्न देशमा धमाधम खोप निर्माण भइरहेका छन्। कतिपय खोप केही महिनाभित्रै बजारमा ल्याइने चर्चा पनि चलेका छन्।
तर ती खोप कहिलेसम्म बनिसक्लान् र नेपालमा प्राप्त होलान्?
यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे यसो भन्छन् :
अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोनटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्रायल गरेको थियो। यो परीक्षणमा ९० प्रतिशत सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी वैज्ञानिक निकै उत्साहित बनेका छन्।
अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा ४३,५०० जनामा ३ हप्ताको अन्तरमा यो खोपको २ डोज लगाइएको थियो। दोस्रो खोप लगाएको ७ दिनपछि कोरोना भाइरसविरुद्धको एन्टिबडी देखिएको बीबीसीले जनाएको छ।
सुरुमा खोप लगाएका ९४ जना व्यक्तिको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो। सबै तथ्यांकको विश्लेषण बाँकी रहेकाले यो फाइनल रिपोर्ट नभएको फाइजर र बायोनटेकका अधिकारीले बताएका छन्। सबै रिपोर्ट अध्ययन गरेपछि खोपलाई आवश्यक परिमार्जन गरिने जानकारी दिइएको छ। कम्पनीले डिसेम्बरसम्म आपतकालीन प्रयोगका लागि अनुमति पाउने आशा गरेको छ।
फाइजर तथा बायोनटेकले नोभेम्बेर तेस्रो हप्तासम्म नियामक निकायमा तथ्यांक पेस गर्नेछन। त्यहाँबाट प्रमाणित भएपछि मात्र खोपको अभियान सुरु हुन्छ। सुरुमा खोप थाेरै मानिसका लागि विभिन्न देशमा पठाइनेछ। त्यो खोप ज्येष्ठ नागरिक, दीर्घ बिरामी, बालबालिका, सुत्केरी, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई दिइनेछ। ठूलो संख्यामा उत्पादन भएपछि मास भ्याक्सिनेसन गरिनेछ।
यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने कुरा खोप लगाएपछि मात्र थाहा हुनेछ। यसले केही महिना मात्र पनि काम गर्न सक्छ, एक वर्ष पनि काम गर्न सक्छ तथा लामो समय पनि काम गर्न सक्छ। यी कम्पनीले घटीमा एक वर्ष खोपले काम गर्ने आशा व्यक्त गरेका छन्। यसको ठूलो मात्रामा उत्पादन, भण्डारण र परिवहनमा केही कठिनाइ देखिएको छ। यो खोपलाई माइनस ८० डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्ने हुन्छ।
कोरोना भाइरसको आनुवांशिक कोडलाई मानव शरीरमा खोप लगाएपछि यसले हाम्रो इम्युन प्रणालीलाई तालिम दिन्छ साथै टी सेलमार्फत कोरोना भाइरससँग लड्छ।
यो वर्षको अन्त्यसम्ममा ५० करोड र सन् २०२१ को अन्त्यसम्म करिब १.३ अर्ब डोज आपूर्ति गर्न सक्षम हुने फाइजर र बायोटेकले जनाएका छन्। प्रत्येक व्यक्तिलाई दुई डोज आवश्यक पर्नेछ।
यो खोपका साथै अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान तथा एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोप, अमेरिकाको मोडेर्ना ल्याबको खोप, चीनका ३ वटा खोप (सिनोफाम, कान्सिनो, सिनोभ्याक) पनि अन्तिम चरणमा पुगेका छन्।
रुसको ग्यामेलिया इन्स्टिच्युट र भेक्टर इन्स्टिच्युटले तेस्रो चरणको परिक्षण गरिरहेका छन्। तेस्रो चरणको परिणाम आइनसके पनि चीन र रुसले खाेप सीमित मानिसलाई खोप दिइरहेका छन्।
नेपालले पर्याप्त खोप पाउन अझै ५-६ महिना लाग्ने देखिएको छ। त्यो बेलासम्म अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न जरुरी छ।
Shares

प्रतिक्रिया