ad ad

समाज


दसैँ बिदामा जाने सैनिकलाई सेनाले आफ्नै हेलिकोप्टर र जहाजमा घर पुर्‍याउने

दसैँ बिदामा जाने सैनिकलाई सेनाले आफ्नै हेलिकोप्टर र जहाजमा घर पुर्‍याउने

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ४:२,

नेपाली सेनाले दसैँ बिदामा जाने सैनिकलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ।

सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो।

सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

‘यस वर्षको दसैँमा सकेसम्म कमलाई बिदामा छाड्छौँ, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्‍याउने व्यवस्था गरेका छौं’, प्रवक्ता पौडेलले नेपालखबरसँग भने, ‘सकेसम्म कसैले पनि सार्वजनिक यातायात नचढ्ने गरी व्यवस्था मिलाएका छौं।’

नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ।

घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ। विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ। नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए।

बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ।

सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो।

हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ।

यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन्। कोरोना संक्रमणकै कारण दुई सैनिकको ज्यान गएको छ। ज्यान गुमाउने सैनिक रामेछाप र तनहुँका हुन्। उनीहरुमा दिर्घ रोग समेत थियो।

कोरोना संक्रमित सैनिकलाई राख्नका लागि सेनाले ब्यारेकैपिच्छे आइसोलेसन र क्वारेन्टिन तयार गरेको छ। वीरेन्द्र सैनिक अस्पतालमा २० बेड आईसीयू र ८० बेडको आइसोलेसन कक्ष बनाइएको छ।

सूर्यविनायक ब्यारेकमा ७० बेड, सैनिक महाविद्यालयमा एक सय बेड र खरिपाटीमा एक सय २५ बेडको आइसोलेसन सेनाले आफ्ना लागि तयार गरेको छ। यस्तै हरेक जिल्लाका ब्यारेकमा अवस्था हेरेर आइसोलेसन तयार गरेको सेनाले जनाएको छ।

कोरोना संक्रमणकै कारण सेनाले नियमित तालिम बन्द गरेको छ। सामुहिक छलफल भर्चुअल माध्यमबाट गरिरहेको छ। शान्ति मिसनमा खटिने सैनिकलाई पनि कोरोना परीक्षण गरेर र विशेष सतर्कता अपनाएर मात्रै पठाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .