ad ad

समाज


काठमाडौंका एसएसपीसहितका प्रहरी अधिकारीमाथि छानविन सुरु

काठमाडौंका एसएसपीसहितका प्रहरी अधिकारीमाथि छानविन सुरु

नेपालखबर
असोज २६, २०७७ सोमबार ८:२३,

काठमाडौं प्रहरी परिसरका अधिकारीहरुमाथि छानविन सुरु भएको छ।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेर काम थालेको हो।

त्रिभुवन विश्व विद्यालयविरुद्ध परेको जाहेरी छानविन नै नगरी गलत तथ्य पेस गरेर तामेलीमा राखेको भन्दै प्रहरी प्रधान कार्यालयमा गत बुधबार उजुरी परेको थियो।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, एसपी सोमेन्द्रसिंह राठौर र मुद्दा शाखाका डीएसपी देविप्रसाद पौडेलविरुद्ध उजुरी परेको हो।

प्रहरी प्रधान कार्यालयले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालयलाई जिम्मा दिएको थियो।

आइतबार महानगरीय प्रहरी कार्यालयले एसएसपी बज्राचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेको हो।

स्नातकोत्तर भौतिक शास्त्र अन्तरगत क्वान्टम मेकानिक्स विषयका उत्तर पुस्तिका छानविनका लागि परेको जाहेरी तामेलीमा राख्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो।

याे पनि: काठमाडौं प्रहरी परिसरविरुद्ध हेडक्वार्टरमा उजुरी, अभियुक्त जोगाउन लागेको आरोप

उक्त विषयका विद्यार्थी आशिष पौडेलले गलत तथ्य पेश गरेर जाहेरी तामेलिमा राखेको भन्दै प्रधानकार्यालयमा उजुरी गरेका हुन्।

उनले त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान कीर्तिपुरका डिन प्रध्यापक डा. रामप्रसाद खतिवडा र सहायक डिन एवं प्ररीक्षा शाखा प्रमुख तेजबहादुर बीसीविरुद्ध जाहेरी दिएका थिए।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उक्त जाहेरी २०७७ असोज १६ गते तामेलीमा राख्ने निर्णय गरेको छ।

पौडेल समेतका विद्यार्थीले सर्वोच्च अदालतसँगै अख्तियार, सतर्कता केन्द्र र प्रहरी परिसरमा उजुरी दिएका थिए। परिसरले सुरुमा जाहेरी दर्ता समेत गर्न मानेको थिएन।

उजुरीमा काठमाडौं प्रहरी परिसरले आवश्यक प्रमाण नै संकलन नगरी र जाहेरवालासँग समेत नबुझी अभियुक्तलाई जोगाउन भूमिका खेलेको भन्दै विभागीय कारबाहीको माग गरिएको छ।

यस्तै परिसरका प्रहरी अधिकारीहरुले आफूमाथि धाकधम्की समेत दिएको पौडेलले बताएका छन्।

परीक्षाफल प्रकाशित भएको ४ महिनापछि उत्तरपुस्तिका नष्ट गर्न पाउने नियम रहेको र सोही नियमअनुसार उत्तरपुस्तिका जलाइसकेको प्रहरी परिसर काठमाडौंले उल्लेख गरेको छ। जाहेरी भने उत्तरपुस्तिका जलाइसकेपछि मात्रै आएको भनिएको छ।

तर पौडेलको जाहेरीपछि पनि डिनको कार्यालयले उत्तरपुस्तिका सुरक्षित रहेको जनाउँदै आएको थियो।

सतर्कता केन्द्रले २०७६ असोज ३० र कात्तिक २१ गते पत्र काट्दै उत्तरपुस्तिका सुरक्षित राख्न त्रिविलाई भनेको थियो।

डिनले २०७६ मंसिर २० गते सतर्कता केन्द्रलाई पठाएको पत्रमा उत्तरपुस्तिका सुरक्षित राखिएको उल्लेख छ। सम्बन्धित निकायले नै उत्तरपुस्तिका सुरक्षित छ भन्दा भन्दै परिसरले नियमसंगत उत्तरपुस्तिका जलाएको कारण देखाउँदै जाहेरी तामेलिमा राखेपछि पीडित हेडक्वाटर गुहार्न पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .