ad ad

समाज


काठमाडौं प्रहरी परिसरविरुद्ध हेडक्वार्टरमा उजुरी, अभियुक्त जोगाउन खाेजेको आरोप

काठमाडौं प्रहरी परिसरविरुद्ध हेडक्वार्टरमा उजुरी, अभियुक्त जोगाउन खाेजेको आरोप

उजिर कार्की
असोज २१, २०७७ बुधबार ८:५८,

काठमाडौं प्रहरी परिसरविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ।

परिसरले गलत तथ्य पेस गरेर आफ्नो जाहेरी तामेलीमा राखेको भन्दै स्याङ्जाका आशिष पौडेलले बुधबार उजुरी गरेका हुन्।

त्रिभुवन विश्व विद्यालयविरुद्ध परेको जाहेरी छानविन नै नगरी गलत तथ्य पेस गरेर जाहेरी तामेलीमा राखेको भन्दै प्रहरी मुख्यालयमा उजुरी परेको हो। पौडेलले परिसरका प्रमुखसहित अनुसन्धानमा संलग्न प्रहरीविरुद्ध उजुरी गरेका हुन्।

बुधबार उजुरी परेको र यस विषयमा आवश्यक अनुसन्धान हुने प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताए।

‘उजुरीमाथि आवश्यक छानविन हुन्छ, संलग्नलाई सोधपुछ गर्छौं, सो उजुरीलाई महानगरीय प्रहरी कार्यालय पठाउँछौं र बुझ्न भन्छौं,’ प्रवक्ता कडायतले भने।

स्नातकोत्तर भौतिक शास्त्रको २०७५ पुस २९ र २०७६ असोज ५ गते सञ्चालित प्रथम सेमेस्टरको पुरानो कोर्षको आंशिक तर्फको क्वान्टम मेकानिक्स विषयका उत्तर पुस्तिका छानविनका लागि परेको जाहेरी प्रहरीले तामेलीमा राख्न रायसहित प्रतिवेदन बुझाएको थियो।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान कीर्तिपुरका डिन प्रध्यापक डा. रामप्रसाद खतिवडा र सहायक डिन एवं प्ररीक्षा शाखा प्रमुख तेजबहादुर बीसीविरुद्ध जाहेरी दिएका थिए।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उक्त जाहेरी २०७७ असोज १६ गते तामेलीमा राख्ने निर्णय गरेको छ।

पौडेल समेतका विद्यार्थीले सर्वोच्च अदालतसँगै अख्तियार, सतर्कता केन्द्र र प्रहरी परिसरमा उजुरी दिएका थिए। अन्य निकायले पनि त्यसबारे अनुसन्धान गरिरहेका छन्। 

सो उजुरीमा काठमाडौं प्रहरी परिसरले आवश्यक प्रमाण नै संकलन नगरी र जाहेरवालासँग समेत नबुझी अभियुक्तलाई जोगाउन भूमिका खेलेको भन्दै विभागीय कारबाहीको माग गरिएको छ।

परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा कसुरदारलाई उम्काउने नियत राखेको र तथ्य लुकाएर नभएका कुरा देखाई गलत प्रतिवेदन बुझाएको उजुरीमा उल्लेख छ।

‘गलत प्रतिवेदन दिने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिम दण्डनीय कार्य समेत रहेको देखिएको, प्रहरी ऐन, २०१२ को दफा १५ को देहाय (ग), (घ), (च), (ट) बमोजिम आफ्नो कर्तव्य पूरा नगरेको, प्रहरी ऐन, २०१२ को दफा ३३ ख अनुसार कर्तव्य पालनाको क्रममा कायरता प्रदर्शन गर्नु कडा अपराध हो,’ उजुरीमा उल्लेख छ, ‘आफ्नो ओहदाको धाकधम्की लगाई म जाहेरवालालाई अनावश्यक दुःख हैरानी र टण्टा दिइएको कार्य प्रहरी ऐन, २०१२ को दफा ३४ बमोजिमको अपराध रहेकोले मुलुकी फौजदारी कार्यविधि र प्रहरी ऐन नियमावली अनुसार निजहरु उपर हदैसम्मको विभागीय कारबाही तथा आवश्यक कारबाही गरी पाऊँ।’

परीक्षाफल प्रकाशित भएको ४ महिनापछि उत्तर पुस्तिका नष्ट गर्न पाउने नियम रहेको र सोही नियमअनुसार उत्तरपुस्तिका जलाइसकेको प्रहरी परिसर काठमाडौंले उल्लेख गरेको छ। जाहेरी भने उत्तर पुस्तिका जलाइसकेपछि मात्रै आएको भनिएको छ।

तर पौडेलको जाहेरीपछि पनि डिनको कार्यालयले उत्तर पुस्तिका सुरक्षित रहेको जनाउँदै आएको थियो।

सतर्कता केन्द्रले २०७६ असोज ३० र कात्तिक २१ गते पत्र काट्दै उत्तरपुस्तिका सुरक्षित राख्न त्रिविलाई भनेको थियो।

डिनले २०७६ मंसिर २० गते सतर्कता केन्द्रलाई पठाएको पत्रमा उत्तरपुस्तिका सुरक्षित राखिएको उल्लेख छ।

परीक्षा कै दिनदेखि यस विषयमा विवाद हुँदै आएको छ। पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको र लेख्दै नलेखेका विद्यार्थीलाई बढी अंक दिएको भन्दै परीक्षा बहिस्कार गरेका विद्यार्थीहरुले उजुरी गरेका थिए।

सुरुमा परीक्षार्थीले डिनलाई उजुरी गरेका थिए। डिनले सुनुवाइ नगरेपछि अख्तियार र सतर्कता केन्द्रमा २०७५ चैत २४ गते उजुरी परेको थियो। सतर्कता केन्द्रले २०७६ वैसाख ५ गते डिनको कार्यालयलाई यस विषयमा ‘के भएको हो?’ भन्दै पत्र काट्यो।

तर त्रिविले यसको जवाफ नदिई २०७६ वैशाख ११ गते नतिजा प्रकाशन गरेको थियो। त्यसको केही दिनमै वैशाख १७ गते शिक्षाअध्यक्ष सुधा त्रिपाठीले छानविन समिति गठन गरिन्।

छानविन समितिले वैशाख २४ गते प्रतिवेदन बुझाउँदै ४५ मध्ये ४० अंकका प्रश्नपत्र पाठ्यक्रम बाहिरको रहेको भन्दै प्रतिवेदन बुझायो।

अख्तियारले गत असोज २ गते त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई उत्तर पुस्तिका लगायत परीक्षासम्बन्धी अभिलेखहरु नष्ट गरी प्रमाण लोप गरेको कसुरमा १५ दिनभित्र छानविन गरी प्रतिवेदन पेस गर्नु भन्दै पत्र काटेको छ।

अन्य निकायले छाविन गरिरहेको मुद्दामा प्रहरी परिसरले भने उन्मुक्ति दिन खोजेको जाहेरवालाको आरोप छ।

प्रहरी प्रधान कार्यालयमा परेको उजुरीमा तामेलीमा राखिएको मुद्दा पुनः अनुसन्धान गरी अगाडि बढाउन माग गरिएको छ।

तर परिसरबाट नभई विशेष टोली गठन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान गरिदिन माग गरिएको छ।

तामेलीमा राखिएको मुद्दा तीन महिनाभित्र थप प्रमाण जुटेमा अगाडि बढ्न सक्ने उल्लेख छ। तर कापी जलाइसकिएको र पछि उजुरी परेको भनिए पनि कापी जलाएको मिति उल्लेख छैन।

उजुरी पर्नु पहिले नै कापि जलाएको मान्ने हो भने सतर्कता केन्द्रलाई पठाएको पत्रमा उत्तरपुस्तिका सुरक्षित राखिएको उल्लेख छ। त्यसपछाडि नजलाउन, सर्वोच्चसँगै अख्तियार र सतर्कता केन्द्रले भनेका छन्।

काठमाडौं प्रहरी परिसरले सुरुमा जाहेरी लिन समेत अस्वीकार गरेको थियो। सरकारी वकिल कार्यालयको पत्रपछि जाहेरी दर्ता गरेपनि अनुसन्धान नै नगरी तामेलिमा राखेको भन्दै जाहेरी परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .