ad ad

समाज


२२ दिनमा २१ फरार अभियुक्त पक्राउ

 २२ दिनमा २१ फरार अभियुक्त पक्राउ

गोकुल जोशी
असोज २३, २०७७ शुक्रबार ३:१०,

मंगलवार कञ्चनपुरको भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट प्रहरीले कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ गर्यो।

अनाधिकृत रुपमा विद्युतिय माध्यमको दुरुपयोग गरी वित्तिय प्रणालीमा पहुँच राख्दै विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोपमा भारतीय व्यापारी सुशील गर्ग पक्राउ परेका थिए।

यो मुद्दा महानगरीय प्रहरी परिसर टेकुमा चलेकोले गर्गलाई कञ्चनपुर प्रहरीले त्यहीँ पठाएको थियो। गर्गलाई पक्राउ गर्नु कञ्चनपुर प्रहरीका लागि पछिल्लो समय नियन्त्रणमा लिएका फरार अभियुक्तमध्येको सबैभन्दा ठूलो सफलता मानिएको छ।

जबरजस्ती करणी मुद्धामा १८ वर्ष देखि फरार पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। २०५९ साल जेठ २५ गते देखि फरार रहेका धामीलाई जिल्ला अदालत कञ्चनपुरले ६ वर्ष कैद सजाय तोकेको थियो।

कञ्चनपुर प्रहरीले पछिल्लो समय धमाधम फरार अभियुक्त पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २२ दिनको अवधिमा २१ जना फरार अभियुक्त पक्राउ परेका छन्।

असोज २२ गतेसम्मको अवधिमा अदालतले अपराधमा संलग्नता पुष्टि गर्दै कैद तथा जरिवाना सुनाएका र अनुसन्धानकै क्रममा फरार रहेका २१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताए।

कोरोना संक्रमणका कारण घर आएर बसेको समयमा फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी थापा बताउँछन्।

‘फरार अभियुक्तहरुले फेरी पनि अन्य घटना घटाउन सक्छन् भनेर प्राथमिकता दिएर निरन्तर निगरानी बढाएका हुन्छौँ । फरार अभियुक्त पक्राउ गर्नु अदालतको फैसला कार्यान्वयनको पाटो पनि हो,’ उनले भने, ‘अदालतबाट फैसला भएका र अनुसन्धानकै क्रममा फरार धेरै अभियुक्तहरुलाई पक्राउ गरेका छौँ । कोही वर्षौदेखि फरार रहेका पनि छन्।’

कोरोना संक्रमणका कारण फरार अभियुक्तहरु घर आएकाले फेरी पनि त्यस्तै प्रकृतिका घटना घटाउने सक्ने हुनाले बिशेष प्राथमिकता दिएर निरन्तर निगरानी बढाएको उनको भनाई छ।

असोज महिनाको २२ गतेसम्म पक्राउ पर्ने फरार अभियुक्तहरुमा सबैभन्दा बढि बलात्कारजन्य घटनाका ८ जना छन्।

यस्तै विवाह सम्बन्धी मुद्दामा जरिवाना तोकिएका ४ जना फरार अभियुक्त, चोरी घटनामा जरिवाना सुनाए पछि फरार २ अभियुक्त, ज्यान मार्ने उद्योग, अवैध मुद्रा, वन पैदावर, चेक अनादर, चलनचलाउ अवरोध, सार्वजनिक अपराध मुद्दाका एक÷एक अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ परेका फरार अभियुक्तलाई अदालतमा बुझाएर कैद सजाय भुक्तानका लागि कारागार चलान तथा जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .