बझाङको मष्टा गाउँपालिकाकी १३ वर्षीया बालिकामामाथि भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले मष्टा गाउँपालिकाको खिकालाबाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मष्टा ३ का २४ वर्षीय झलक दमाइ, वडा नं २ का २५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीया पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा छन्।
सोही ठाउँकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए।
प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई १३ वर्षीया बालिका बलात्कार घटना गाउँमै गुपचुप रुपमा मिलाएका थिए।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया