ललितपुरमा नक्कली नोटमा सुन किनेर दुई व्यक्ति फरार भएका छन्।
बिहीबार ललितपुर महानगरपालिका १४ ताल्छीखेलका डम्बरबहादुर रिजालको जयनाथ दुर्गा जेम्स एन्ड ज्वेलरी पसलबाट ५ तोला सुनका गहना किनेर नक्कली नोट दिई दुई जना फरार भएका हुन्।
सुन किन्न आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किनेपछि ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट दिएर बिलसमेत नलिई भागेको ललितपुर प्रहरीले जनाएको छ।
सुन पसलमा बुझाएको नक्कली नोट प्रहरीले लगे पनि ती व्यक्तिहरुलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। उनीहरुले बुझाएको ४ लाख ६५ हजारमध्ये ५ हजार मात्रै सक्कली र बाँकी नक्कली नोट रहेको प्रहरीले जनाएको छ।
बरामद ५ गड्डीमा ४ सय ६० थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा एक हजारको सक्कली नोट राखेको पाइएको हो।
फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया