ad ad

समाज


विज्ञ भन्छन् : सरकारले बल नागरिकको कोर्टमा दियो, आफैँ सुरक्षित बनौँ

विज्ञ भन्छन् : सरकारले बल नागरिकको कोर्टमा दियो, आफैँ सुरक्षित बनौँ

नेपालखबर
भदौ २४, २०७७ बुधबार १५:६,

तीन हप्तादेखि उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि खुकुलो हुने भएपछि जनस्वास्थ्य विज्ञले सरकारले बल नागरिकका हातमा दिएको र अब आफैँ सुरक्षित हुनुपर्ने बताएका छन्।

निषेधाज्ञा खुकुलो बनाउने निर्णयलाई स्वागत गर्दै जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले सरकारको यो निर्णय नागरिकको पक्षमा भएपनि कोरोना संक्रमण घटेको भनेर कसैले बुझ्न नहुने बताए।

‘निषेधाज्ञा खुलेसँगै संक्रमणको जोखिम अझै बढ्छ। घरबाहिर निस्कँदा अनिवार्य सही तरिकाले मास्क लगाउनै पर्यो, दूरी कायम गर्नेपर्‍याे,’ डा.पाण्डेले भने, ‘सरकारले बल हाम्रो कोर्टमा फालेको छ। अब जोगिन हामी आफैँले विशेष सतकर्ता अपनाउनै पर्छ।’

उनले घरबाहिर जति कम समय बितायो त्यति असुरक्षित भइने भएकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरे। कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसँग घुलमिल हुने बानीको विकास गर्न उनको सुझाव छ।

उनले बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोगी भएका व्यक्तिहरुलाई जोगाउन सकेसम्म घरमा छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउन आग्रह गरे।

‘कुन व्यक्ति संक्रमित छ भनेर अनुहार हेरि चिनिँदैन। हरेक व्यक्तिसँग सुरक्षित ब्यबहार गर्नुपर्छ,’ उनले भने, ‘काममा जाँदा पानी, खाजा घरबाट लिएर जाने बानी बसाल्नुपर्यो। व्यवसायीले व्यक्तिगत दूरी सुनिश्चित गर्ने गरी व्यवसाय सञ्चालन गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, झ्यालढोका खोलेर काम गर्ने वातावरण मिलाउनुपर्‍याे।’

बुधबार गृहमन्त्रालयको परामर्शमा तीनवटै जिल्लाले जनजीवन सामान्य बनाउने गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

आज राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञामा स्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय गर्न खुल्ला गरिएको छ।

सरकारले विभिन्न व्यवसाय सञ्चालन गर्नका लागि उपत्यकामा समय तोकेको छ। बार र समय अनुसार पसल खोल्न दिने गरी मापदण्ड तयार गरिएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक्स पसल लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न पाइने छ।

भाँडा भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन गर्न पाइने छ।

फर्निचर र अटो मोवाइल सम्बन्धी पसलहरु सोमबार र बुधबार मात्रै खोल्न पाइने मापदण्ड तोकिएको छ।

यस्तै फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक सिलहरु, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ।

सवारीसाधन मर्मतसम्बन्धी वर्कशप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ।

खाद्य वस्तु, डेरी र फलफूल तथा माछा मासु पसल बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ। निर्माण सामाग्रिसँग सम्बन्धित पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने छ।

सहकारी संस्थाहरु समेत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने छ।

अत्यावश्यक सेवाका व्यवसाय तथा पसलहरु भने जुनसुकै समयमा खोल्न सकिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .