ad ad

राजनीति


कुलमानको कार्यकाल चार वर्ष थप्न शुक्रबार मन्त्रिपरिषदमा प्रस्ताव जाँदै

कुलमानको कार्यकाल चार वर्ष थप्न शुक्रबार मन्त्रिपरिषदमा प्रस्ताव जाँदै

नेपालखबर
भदौ २४, २०७७ बुधबार १५:१४,

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार वर्ष थप गर्न शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवलायका एक सदस्यका अनुसार बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदबैठक शुक्रबारका लागि सारिएको छ। शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठक पनि बस्ने भएकाले सम्भवतः साँझ मात्रै मन्त्रिपरिषद बैठक बस्नेछ।

मन्त्रिपरिषद बैठक शुक्रबार सरेपछि रोल्पाबाट काठमाडौं फर्कंदै गरेका उर्जामन्त्री पुन बुधबार चितवनको भरतपुरमै बास बसेका छन्। उनी बिहीबार काठमाडौं आइपुग्ने छन्।

मन्त्री पुनको सचिवालयका एक सदस्यका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी भइसकेको छ। उनले दुई वर्ष कार्यकाल थप गर्ने गरी प्रस्ताव लैजाने चर्चाको खण्डन गरेका छन्।

‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको कार्यकाल चार वर्ष थप्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ, दुई वर्षको हल्ला गलत हो’, मन्त्री पुनको सचिवालयका ती सदस्यले भने।

कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, सोमबार सकिँदै छ।

पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङको अर्को एक कार्यकाल थप गर्न नागरिक तहबाट पनि आवाज उठेको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटवार्तामा घिसिङको कार्यकाल थप गर्नेबारे छलफल भएको थियो। अध्यक्ष प्रचण्ड प्राधिकरणमा राम्रो काम गरेकाले कुलमानको कार्यकाल थप गर्नु पर्ने पक्षमा छन्। सोमबारको छलफलमा प्रधानमन्त्री ओली पनि कार्यकाल थप्न सकारात्मक देखिएको बताइएको छ।

दुई हप्ताअघि प्रधानमन्त्री ओली र मन्त्री पुनबीच पनि कुलमानको कार्यकाल थप्नेबारे छलफल भएको थियो। जसमा प्रधानमन्त्री ओलीले सकारात्मक संकेत दिएका थिए।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .