समाज


झलनाथ खनालको सक्रियतामा सर्लाहीमा ७२ करोड लगानी गरेर विषालु सर्प पालन सुरु गरिँदै

झलनाथ खनालको सक्रियतामा सर्लाहीमा ७२ करोड लगानी गरेर विषालु सर्प पालन सुरु गरिँदै

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:३६,

सर्लाहीको लालबन्दी नगरपालिका–६, मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँको साढे ८ बिघा जमिनमा विषालु सर्प पाल्ने भएको छ।

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

यसका लागि प्रतिष्ठानले तीनवटै तहका सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिए। सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने योजना रहेका उनले बताए।

विषालु सर्पले टोकेर तराई क्षेत्रमा बर्सेनि धेरै जनाको ज्यान जाने गरेको छ । सर्पले डसेका बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ।

अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको प्रतिष्ठानले सर्प पालनका लागि सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ बिघा जग्गा खरिद गरिएको प्रतिष्ठानका अध्यक्ष पन्तले जानकारी दिए।

उनका अनुसार सर्प पाल्न प्रतिकठ्ठा साढे ३ लाखका दरले टेन्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ । सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले बताए।

असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनको भनाइ छ । अबको २ वर्षभित्र भवनलगायत सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने उनले बताए।

सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७० सालमा सर्लाहीबाट संविधानसभा चुनाव पनि लडेका थिए। नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एक जनाको मृत्यु भएको थियो।

त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना भएको हो । अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad