समाज


मृत्युदर अब ह्वात्तै बढ्न सक्छः विज्ञ, मृत्यु संख्या कम गर्न निषेधाज्ञा: प्रवक्ता गौतम

मृत्युदर अब ह्वात्तै बढ्न सक्छः विज्ञ, मृत्यु संख्या कम गर्न निषेधाज्ञा: प्रवक्ता गौतम

सागर न्यौपाने
भदौ १०, २०७७ बुधबार १६:११,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता दैनिक ८ देखि ११ जनाको ज्यान गइरहेको छ।

हालसम्म कोरोनाबाट १ सय ७५ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रदेश २ मा ७५ जनाको ज्यान गएको छ। त्यस्तै बागमतीमा ३७, प्रदेश ५ मा २३, प्रदेश १ मा २०, सुदूरपश्चिममा १०, गण्डकीमा ८ र कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ।

मंगलबारसम्म १ सय ६४ जनाको मृत्यु भएको थियो। बुधबार एकैदिन ११ जनाको मृत्यु भएको हो।

संक्रमण रोकथाम र संक्रमितको उपचारसम्बन्धी व्यवस्थापन राम्ररी गर्न नसके मृतक संख्या ह्वात्तै बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। दैनिक झण्डै दर्जनको संख्यामा संक्रमितको मृत्यु हुन थालेपछि यसले भयावह रुप लिनसक्ने उनीहरु बताउँछन्।

मुख्य गरेर जनघनत्व बढी भएका स्थानमा संक्रमितको संख्या र मृतक संख्या पनि बढेको छ।

‘जनघनत्व बढी भएको ठाउँमा संक्रमितको मृत्यु हुन थालेको छ, यो भनेको कोरोना समुदायमा फैलिसकेको हो,’ संक्रामक रोग तथा जटिल रोग उपचार विशेषज्ञ डा. प्रभात अधिकारीले नेपालखबरसँग भने, ‘यसलाई व्यवस्थापन गर्न नसके अवस्था गम्भीर हुनसक्छ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पनि जनघनत्व बढी भएका स्थानमा समुदायमा कोरोना संक्रमण फैलिएकोले मृत्यु हुनेको संख्या बढी भएको बताए।

‘अझैपनि व्यवस्थापनलाई ध्यान नदिने हो भने मृत्यु संख्या एकैपटक ह्वात्तै बढ्ने देखिन्छ,’ उनले भने।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु संख्या केही बढेपनि व्यवस्थापन गर्नै नसकिने अवस्था नआएको बताए।

‘पछिल्ला दिनमा मृत्यु संख्या बढेको छ, तर कोरोनाबाट मृत्युसंख्या अहिलेपनि ४० औं नम्बरमा छ, ३९ औं सम्म मृत्युको कारण अरु नै छन्,’ गौतमले भने।

pravat_adhikari_46.jpg

मृत्युदर घटाउन अक्सिजन, आईसीयू र भेन्टिलेटर : डा. प्रभात अधिकारी
समुदायमा संक्रमण फैलिएपछि हरेक उमेर समूहलाई हान्छ। त्यसमा पनि रोगी वृद्ध–वृद्धामा यसैपनि मृत्यु हुने सम्भावना बढी हुन्छ। विकसित मुलुकमा भेन्टिलेटर, आईसीयूको व्यवस्था र डाक्टरहरुको प्रबन्ध मिलाइएको हुन्छ, सिकिस्त मानिसहरुलाई तत्काल आईसीयूमा लगेर बचाउन सकिन्छ। नेपालमा अब अक्सिजन सकिने वा भेन्टिलेटर नपाउने खतरा बढ्न थालेको छ। बचाउन सकिने मानिसलाई पनि बेड वा भेन्टिलेटर अभावमा बचाउन नसकिने हुनसक्छ।

यही रुपमा भाइरस फैलियो महामारी भयो भने ८० प्रतिशत जनसंख्या प्रभावित हुन्छ र त्यसको तीन प्रतिशत त मृत्यु हुने खतरा हुन्छ। हामीले राम्रोसँग नियन्त्रण लिन सक्यौं भने कम हुनसक्छ। नेपालको मृत्युदर यति नै हुन्छ भन्न सकिँदैन। किनभने बल्ल संक्रमण बढ्दैछ। अक्सिजन, डाक्टर, भेन्टिलेटर व्यवस्थापन गर्न सक्यौं भने मृत्युदर कम पनि हुनसक्छ।

जहाँ बढी जनघनत्व हुन्छ, त्यहाँ बढी संक्रमण फैलिने हो। काठमाडौं, वीरगञ्ज, पोखरा, चितवन, विराटनगर, बुटवल लगायतका जहाँ जनघनत्व बढी भएको ठाउँमा मानिसहरु समूहमा आवतजावत गर्छन्, त्यहाँ जोखिम बढी हुन्छ।

त्यहाँ रोग फैलिएपछि व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। काठमाडौं र वीरगञ्जको कुरा गर्ने हो भने जनघनत्व काठमाडौंमा बढी होला, तर, सुविधा पनि काठमाडौंमा बढी छ। वीरगञ्जमा छैन। त्यहाँ सरकारी अस्पतालमा एउटा मात्र भेन्टिलेटर होला कुनैमा त छँदै छैन। त्यसकारण काठमाडौंमा संक्रमितको ५ प्रतिशत आईसीयूमा गयो भने धेरैलाई बचाउन सकिन्छ तर, वीरगञ्जमा सकिन्न। किनभने त्यहाँ अक्सिजन, भेन्टिलेटर अभाव हुनसक्छ। संक्रमण फैलिएपछि बिरामीलाई चाँडै अस्पताल लैजाने व्यवस्था गर्नुपर्‍यो।

मृत्युदर बढ्ने नबढ्ने व्यवस्थापनमा भर पर्छ। अहिले पूरै तथ्यांकलाई हेर्दा मृत्यु संख्या एक प्रतिशत पनि पुगेको छैन, यो राम्रो पक्ष हो।

लकडाउन गर्दा घट्छ, शून्य त हुँदैन। खोल्दा बढ्छ। तर, संक्रमितको व्यवस्थापन राम्रोसँग भयो भने, समयमै उपचार, औषधि दिन सकियो भने मृत्युदर घटाउन सकिन्छ।

rabindra_pandey_567.jpg

दसैँतिहार र जाडो महिनामा संक्रमण र मृत्यु झन् बढ्ने देखिन्छः डा. रवीन्द्र पाण्डे  
सुरुमा बाहिरबाट आएकाहरु मात्र संक्रमित थिए, समुदायमा संक्रमण फैलिएको थिएन। अहिले भारतसँग सीमा जोडिएका जिल्ला र जनघनत्व बढी भएका ठाउँमा समुदायमा संक्रमण फैलियो।

संक्रमित जिल्लाबाट काठामाडौंमा मानिस आएपछि यहाँपनि संक्रमण फैलियो। काठमाडौं, पोखरा, तराईका सहरहरु, बुटवल लगायतका ठाउँमा संक्रमितहरुले घरसम्मै लगे। अनि बुढाबुढी, दीर्घरोगीहरुमा पनि प्रवेश गर्‍यो। त्यो समूहमा संक्रमण प्रवेश गर्‍यो भने मृत्यु संख्या बढ्छ र त्यो संख्या बचाउन पर्छ भनेर हामीले पहिले नै भनेका थियौं।

बोर्डर सिल, संक्रमित जिल्लाको आवतजावत रोक्न नसक्दा संक्रमित व्यक्ति एक ठाउँबाट अर्काे ठाउँमा पुगे, त्यसले गर्दा सबै ठाउँमा संक्रमण फैलियो।

अब मृत्यु संख्या रोक्न गम्भीर भएर नलाग्ने हो भने भोलिको दिनमा संक्रमितको मृत्यु संख्या ह्वात्तै बढ्न सक्छ।

लकडाउनले संक्रमण रोक्न सक्दैन भन्ने कुरा पहिलाको १ सय २० दिन र अहिले थपिएको एक हप्ताले देखाइसकेको छ। किनभने संक्रमितको संख्या घटेको छैन, बरु झन् बढिरहेको छ।

लकडाउन गरेर संक्रमण घटाउन सकिन्छ होला तर, त्यो कहिलेसम्म भन्ने प्रश्न छ। दसैँतिहार र जाडो महिनामा संक्रमण झन् बढ्ने देखिन्छ।

हाम्रा सबै निकायले राम्रोसँग काम कहिले पनि गर्न सकेका छैनन्। स्रोत र साधनमा हामी सधैँ कमजोर नै देखिन्छौं। जनशक्तिको परिचालन, छिटो रेस्क्यु हामी गर्नै सक्तैनौं।

अब व्यवस्थापनको विषयमा अझै गम्भीर भएर कदम नचाल्ने हो भने यो संक्रमणबाट मृत्यु हुने संख्या नियन्त्रणको प्रयास सरकारको हातबाट बाहिर जान सक्छ। अहिले सक्रिय उमेरका मानिसको मृत्यु हुन थालेको छ।

हुन त विश्वभरको मृत्युदरको तुलनामा नेपालमा धेरै नै कम छ। केही न केही अन्य रोगको संक्रमणमा रहेकाहरुलाई कोरोना पनि देखिएर मृत्यु भएको छ।

आईसीयूको क्षमता बढाउनुपर्‍यो। त्यसो भयो भने केही केस बचाउन सकिन्छ। कोभिडका बिरामीलाई सबैभन्दा बढी आवश्यक पर्ने भनेको अक्सिजन हो। योजनाबद्ध रुपमा सबै स्रोत र साधनलाई परिचालन गर्ने हो भने मृत्यु संख्या नियन्त्रण गर्न सकिन्छ।

dr jageshwor gautam 43

कुनै एजेन्डा नभएर मानिसहरु कोरोना कोरोना भनिरहेका छन्ः डा. जागेश्वर गौतम

कोरोनाबाट मृत्यु संख्या बढ्न थालेको छ। यसलाई कसरी विश्लेषण गर्नुभएको छ?
मृत्यु संख्या बढेको हो। प्रतिशतमा खासै बढेको छैन। कति सक्रिय संक्रमित छन्, त्यो मध्ये कतिको मृत्यु भयो भनेर हेर्ने हो। त्यसरी हेर्दा बढेको छैन। संख्या चाहिँ बढेको छ।

ज्यान गुमाउनेको संख्या १ सय ७५ पुगिसक्यो। मृतक संख्या कति पुग्ने प्रक्षेपण छ?
हामी तथ्यांक संकलन गरेर विश्लेषण गर्दैछौं। पहिलाको तथ्यांकअनुसार भदौ २ गतेसम्म ४० हजार सक्रिय संख्या पुग्छ र केहीको मृत्यु हुन्छ भन्ने थियो। तर संक्रमित संख्यालाई ९, १० हजारमा सिमित गर्न सकियो। अब फेरि प्रोजेक्सन गर्छौँ। अहिलेको संख्याले आत्तिनुपर्ने छैन। काठमाडौंमा भएर मान्छेहरु धेरै आत्तिएका हुन्।

जनघनत्व बढी भएकै ठाउँमा बढी संक्रमित छन्। भाइरस अझ फैलिने जोखिम कत्तिको छ?
हामी यसलाई क्लस्टरमा केस पुगेको भन्छौँ। काठमाडौंमा १७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। देशका थुप्रै ठाउँमा लकडाउन र निषेधाज्ञा छ। जो मानिस घरमा बिरामी परेका छन्, डायबटिज, प्रेसर, क्यान्सर लागेका अस्पताल आउँछन्। अरु संक्रमित १४ दिन घरमा बसेपछि निको हुन्छ, अर्काेलाई सार्दैन। जति सार्ने घरमै सार्ने हो, बाहिर अरुलाई सार्दैन। त्यसो भएपछि नियन्त्रण हुनुपर्छ।

मृत्युदर?
मृत्युदर त अहिले पनि बढेको छैन। मृतक संख्या बढ्न सक्छ। किनभने केस धेरै भएपछि मृत्युपनि धेरै हुन्छ नि। हामीले संक्रमण फैलन नदिन र मृत्यु संख्या कम गर्न निषेधाज्ञाको रणनीति लिएका छौं।

अब सबैभन्दा महत्वपूर्ण कुरा जति पनि केस छन्, तिनीहरुलाई आइसोलेट गरेर राख्ने, उनीहरुको सम्पर्कमा आएका मानिसहरुको परीक्षण गर्ने, पोजिटिभ देखिएकालाई आइसोलेट गर्ने गरिरहेका छौं। 

तर, हाम्रो रणनीतिलाई मानिसहरुले सहयोग गरेनन्। माइतीघर मण्डला, बालुवाटारतिर जुलुस नगर भनेर मैले पहिले भनेको थिएँ। जहाँजहाँ जुलुस गरे, त्यहाँत्यहाँ केस धेरै भयो। अहिले बालुवाटारमा धेरै संक्रमित छन्।

भयो के भने, बालुवाटारमा राष्ट्र बैंक अगाडि जुलुस राखे। प्रधानमन्त्रीलाई के के गर्ने भन्दै जुलुस गरे। त्यहाँ रोगी पनि थिए, तिनीहरुले बुढाबुढीलाई सारिदिए। बुढाबुढी पनि हेर्न गए। बच्चाहरु पनि गए, कार्ड बोेके, सतप्रतिशत पीसीआर हुनुपर्छ भने। अनि घरमा लगेर बुढाबुढीलाई सारिदिए। हामीले भनेको गरेको भए यो अवस्था आउँदै आउँदैन थियो।

लकडाउन हटेको बेलामा भारतबाट मानिसहरु ह्वात्तै नेपाल प्रवेश गरे। तिनीहरुले वीरगञ्ज, विराटनगरमा सारे अनि तिनै मानिस सीधै काठमाडौं पनि आए र यहाँ पनि सारिदिए।

स्वास्थ्य मन्त्रालयले भनेको मानेको भए र त्यही अनुसार सुरक्षाकर्मीले कडाइ गरिदिएको भए यो अवस्था आउने थिएन।

मैले त सयौं पटक भनेको थिएँ। एउटा पार्टीको समर्थन वा विरोधमा भेला सम्मेलन नगर। नेताहरु बुढा भएका छन्, साह्रो होला, मरौला। तिमीहरु यो देशका लागि धेरै बाँच्नुपर्छ भनेर मन्त्रालयको प्रवक्ताभन्दा पनि माथि उठेर मैले भनेको थिएँ। टेरपुच्छर लगाएनन्, अब पछुतो मानेर के गर्ने? अहिले पनि भ्याक्सिन भ्याक्सिन भनिरहेका छन्। अहिलेको रेमडिसिविर औषधि भनेको, प्लाज्मा र भ्याक्सिन भनेको जम्मा तीनवटा कुरा हो, घरबाट ननिस्किने, मास्क लगाउने, दुई मिटरको दूरी कायम गर्ने। त्योभन्दा बलियो अहिले तत्काललाई केही पनि छैन। यो कुरामा ध्यान दिँदैनन्, अनि त दुःख पाइहाल्छन्। तर, सरकारले त्यसो भनेर छोड्ने कुरा आएन।

संक्रमण पिकमा पुग्दा दैनिक कतिको मृत्यु होला?
यसको ठ्याक्कै हामीले तथ्यांक निकालिसकेका छैनौं। अझै एकदुई दिन समय लाग्ला। फरक किसिमले रिमोडलिङ गर्ने तयारी भएको छ, अनि मात्रै यकिन संख्या भन्न सकिन्छ। तर, आजपनि मानिसहरुको मृत्यु हुने कारणमा कोरोना चाहिँ ४० औं नम्बरमा छ है। यो भन्दा धेरै मानिस मर्ने ३९ वटा कारण अरु नै छन्। तर, हामी चाहिँ कोरोना कोरोना भनिरा’छौँ। हामीले किन यसलाई प्राथामिकता दिइरहेका छौं? हुन त अहिले राजनीतिक कुनै एजेन्डा नभएर पनि होला। बोल्न, लेख्न विषयवस्तु चाहिन्छ नि अहिले।

मानिस मर्ने ३९ वटा कारण अरु नै छन्। हामी होसियार हुने हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad