झापामा प्रहरीको गोली लागि एक जनाको ज्यान गएको छ। झापा गाउँपालिका ३ कटुवामारीका ३८ वर्षीय रसिकुल आलमको ज्यान गएको हो।
एक राउण्ड गोली लागी घाइते भएका आलमको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
पशुचौपाया काट्ने व्यक्तिलाई पक्राउ गरेको विषयमा बिवाद हुँदा प्रहरीले गोली चलाउनु परेको झापाका डीएसपी राकेश थापाले बताए।
बुधबार दिउँसो त्यहाँ गोरु जस्तो देखिने पशुचौपाय काटेको जानकारी आएपछि प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी निरीक्षक संदिप बोगटी र सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा सो चौपायाको मासु टुक्रा पारेको अबस्थामा फेला पारेपछि संलग्न स्थानीय ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। काटिएको मासु समेत प्रहरीले लगेर इलाका प्रहरी कार्यालयमा लगेको थियो।
पक्राउ परेका दुई जनालाई म्याद थप तथा आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गरिरहेकैबेला स्थानीयले प्रहरीलाई घेरा हालेको डीएसपी थापाले बताए।
झापा ३ स्थित कामाटोली भन्ने स्थानमा डिउटीमा खटिएको सुरक्षाकर्मीहरुलाई स्थानियबासीहरुले घेरेर नियन्त्रणमा लिएको जानकारी आएपछि प्रहरी चौकी टाघनडुब्बाबाट थप टोली त्यसतर्फ गएको थियो।
प्रहरीले स्थानीयलाई सम्झाई बुझाई गर्दा स्थानियबासीले सुरक्षाकर्मीलाई हातपात गरेको, प्रहरीको गाडीको चाबी थुत्ने ढुङ्गामुढा गर्ने क्रममा सशस्त्र प्रहरी बलको तर्फबाट भिडलाई तितरबितर गर्ने क्रममा हवाई फायर गर्दा आलमलाई गोली लागेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अबदुल सलाम र ताजबुल हक इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ। अहिले प्रहरी प्रशासन र स्थानीयको बीचमा छलफलको तयारी भइरहेको डीएसपी थापाले बताए। जिल्ला प्रहरी कार्यालयबाट वार्ताका लागि प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

प्रतिक्रिया