समाज


भयावह बन्दै काेराेना : १८ घण्टा नबित्दै काठमाडौं उपत्यकामा ३ सहित थप ६ जनाकाे मृत्यु

भयावह बन्दै काेराेना : १८ घण्टा नबित्दै काठमाडौं उपत्यकामा ३ सहित थप ६ जनाकाे मृत्यु

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ५:३३,

काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहीबार दिउँसो (साढे ४ बजेतिर) स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेट गराएको १८ घण्टा पनि नबित्दै (शुक्रबार बिहान ९ बजेसम्म) थप ६ संक्रमितको मृत्यु भएको हो।

जसमध्ये आज बिहान मात्रै ४ जनाको मृत्यु भएको हो। तीमध्ये ललितपुरकाे पाटन अस्पतालमा २ जना (महिला र पुरुष) र रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पताल  र चितवनको भरतपुर अस्पतालमा एक-एक जना (पुरुष) काे मृत्यु भएकाे हाे। 

यस्तै बिहीबार साँझ काठमाडौंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको हाे।

यसैगरी मोरङको विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिएका छन्। 

विराटनगर महानगरपालिका काेभिड-१९ टिम सुपरभाइजर हैदर अलीका अनुसार ती पुरुष आफैंले यही भदाै २ गते काेसी अस्पतालकाे प्रयाेगशालामा स्बाव संकलन गराएका थिए। भाेलिपल्टै (भदौ ३ गते) त्यसकाे रिपाेर्ट पाेजिटिभ आएको थियो।

‘त्यहाँका वडाध्यक्षले आज बिहान गराएको जानकारीअनुसार हिजो राति उहाँकाे मृत्यु भएको हो,’ सुपरभाइजर अलीले नेपालखबरसँग भने, ‘उनी १० वर्षदेखि डाइबिटिज र प्रेसरका बिरामी थिए।’

उनका अनुसार आइसोलेसन वार्डको अभावमा संक्रमितलाई घरमै बस्न भनिए पनि आवश्यक सल्लाह तथा उपचारका लागि नगरवासी सबैलाई डाक्टरको नम्बर उपलब्ध गराइएको छ।

‘सोहीबमोजिम सबैले डाक्टरलाई फोन गरिरहेका छन्,’ उनले भने, ‘हिजो राति मात्रै एक जनालाई हामीले अस्पताल पुर्‍याएका छौं। तर उहाँ (मृतक) ले भने हामीसँग सम्पर्क गर्नुभएको थिएन।’

यी सबै गर्दा हिजो बिहीबार दिउँसाे स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको १८ घण्टा पनि नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसले पछिल्लो समय नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad