समाज


समुदायस्तरमै संक्रमण फैलिएपछि धमाधम लकडाउन गर्दै रुपन्देहीका स्थानीय तह

समुदायस्तरमै संक्रमण फैलिएपछि धमाधम लकडाउन गर्दै रुपन्देहीका स्थानीय तह

प्रकाश न्यौपाने
भदौ १, २०७७ सोमबार ११:४२,

कोरानाको जोखिम बढ्दै गएपछि रुपन्देहीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन्।

जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको छ। संक्रमण नियन्त्रण गर्न रुपन्देहीका अधिकांश स्थानीय तहहरुले लकडाउन गरेका छन्।

मर्चवारको सम्मरीमाई गाउँपालिकाले गएराति १२ बजेबाट लागू हुने गरी भदौ ६ गते १२ बजेसम्मका लागि लकडाउन गरेको अध्यक्ष केशबनन्द बानियाँले जानकारी दिए।

‘कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले लकडाउन गरेका हौं। आवश्यकता अनुसार थप हुन सक्छ’, उनले भने।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्र मर्चवारको अर्को पालिका कोटहीमाई गाउँपालिकाले आज राति १२ बजेबाट लागू हुनेगरी भदौ ८ गतेसम्मका लागि लकडाउन गरेको जनाएको छ।

मर्चवारकै सम्मरीमाई गाउँपालिकाले आजराति १२ बजेदेखि भदौ ८ गते बिहान ६ बजेसम्म पूर्ण लकडाउन गरेको अध्यक्ष जितेन्द्रनाथ शुक्लले बताए। लकडाउन गरिए पनि एम्बुलेन्स, दमकल, सरसफाई, स्वास्थ्य क्षेत्र, खाद्यान्न बोक्ने सवारी लगायत अत्यावश्यक वस्तु भने सञ्चालन हुने स्थानीय तहहरुले जनाएका छन्।

जिल्लामा यसअघि नै बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, ओमसतिया, मायादेवी गाउँपालिका लगायतका स्थानीय तहहरुले लकडाउन गरिसकेका छन्।

रुपन्देहीमा १६ स्थानीय तह छन्। सबै तहहरुमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

जिल्ला प्रशासनद्वारा सेवा बन्द
यसैबीच जिल्ला प्रशासन कार्यालय, रुपन्देही अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै प्रशासनले नागरिकता, राहदानी, संघसंस्थालगायतका प्रशासनिक सेवा भदौ ५ सम्म स्थगन गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले जानकारी दिए।

प्रशासनले कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा रुपन्देहीमा पनि समुदायस्तरमा यसको संक्रमण बढ्न सक्ने सम्भावना मध्यनजर गरी सेवा बन्द गरेको सूचनामार्फत् जानकारी गराएको छ। सेवा प्रवाह हुँदा कार्यालयमा भीडभाड हुने भएकाले हाललाई शान्ति सुरक्षाबाहेकका सेवा स्थगन गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिए।

१३ जना संक्रमित थपिए
सोमबार ५ बजेसम्म रुपन्देही थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बुटवल, सिद्धार्थनगर, शुद्धोधन लगायतका ठाउँका नागरिकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले जानकारी दिए। आइतबार मात्रै जिल्लामा ५६ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad