सिरहाका छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ।
सर्पदंश र पोखबरीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहकी पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको सर्पदंशबाट मृत्यु भएको छ।
आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै विषालु सर्पको टोकाइबाट सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी २२ वर्षीय तिलक बरालको पनि मृत्यु भएको छ।
बराललाई उपचारका लागि बन्दीपुरस्थित नेपाली सेनाको शेरगण सुरक्षा गुल्म सर्पदंश उपचार केन्द्र बन्दीपुर भर्ना गरिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यस्तै पोखरीमा डुबेर सिरहाको अर्नामा गाउँपालिका र कल्याणपुर नगरपालिकामा दुई बालबालिकाको मृत्यु भएको छ। अर्नामा गाउँपालिका– १ स्थित पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर स्थानीय नन्दलाल पालकी पाँच वर्षीया छोरी साक्षीकुमारी पालको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित महुलियाटोलमा रहेको पोखरीमा डुबेर स्थानीय महमद मसरफ हुसेनका तीन वर्षीय छोरा महमद अफरोस हुसेनको मृत्यु भएको छ।
आफ्नै घरको अगाडि खाल्डोमा खेल्दाखेल्दै पानीमा डुबेर सिकिस्त भएका हुसेनलाई उपचारका लागि मिर्चैया प्राथमिक स्वाथ्य केन्द्र अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।
त्यस्तै करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–४ स्थित भर विश्वकर्मा सप्लायर्स ग्रिल उद्योगका सञ्चालक मनिषकुमार विकको मृत्यु भएको छ।
ग्रिल उद्योगमा काम गर्ने क्रममा विजुलीको तार सर्ट भई अचानक करेन्ट लाग्दा सञ्चालक सर्लाहीको बागमती नगरपालिका–८ सोल्टी निवासी २० वर्षीय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
Shares

प्रतिक्रिया