ताप्लेजुङको सिदिङमा गाउँपालिकाले गाईको सुत्केरी भत्ताबापत कृषकलाई १० लाख रुपैयाँ प्रदान गरेको छ।
आर्थिक वर्ष २०७५/७६ मा ५२ वटा गाईको सुत्केरी भत्ता प्रदान गरिएको हो । प्रत्येक गाईधनीलाई जनही २० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए।
“५ हजार औषधिउपचार र १५ हजार गोठ सुधार गर्न दिएका हौं,” अध्यक्ष कडरियाले भने, “भत्ताको उद्देश्य दुग्धजन्य पदार्थमा आत्मनिर्भर गाउँपालिका बनाउनु हो।”
अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ५१ वटा गाईको सुत्केरी भत्ता दिएको थियो । गतवर्ष पनि प्रत्येक गाईका लागि २० हजारका दरले नै प्रदान गरिएको उपाध्यक्ष जीवन ताम्लिङले बताए।
गाउँपालिकाभित्रका ७ वटै वडाका कृषक कार्यक्रममा लाभान्वित छन् । भत्ता प्राप्त गर्न कम्तिमा २ वटा गाई वा भैंसी पालेको हुनुपर्ने, सुधारिएको गोठ हुनुपर्ने र घाँस व्यवस्थापन गरिएको हुनुपर्ने प्रावधान छ। यो खबर आजको कारोबार दैनिकमा देवराज गुरुङले लेखेका छन्।
प्रत्येक गाई वा भैंसीको कम्तीमा दैनिक ७ लिटर दूध हुनुपर्ने प्रावधान राखिएको हो। उपाध्यक्ष ताम्लिङले भने, “२ वटा साधारण गाई/भैंसी देखाएर भत्ता लिए उद्देश्य पुरा हुँदैन । त्यसैले सोचविचार गरेर प्रावधान बनाएका हौं।”
गाउँपालिका–५ लिम्बुदिनका वडाअध्यक्ष तेजेन्द्र लिम्बूले आफ्नो वडामा डेरी सञ्चालनका लागि पनि अनुदान दिएको बताए। २ वटा डेरीका लागि ५०/५० हजार रुपैयाँ अनुदान दिइएको हो। वडा नं २ को सादेवा र ३ को आँखोपमा गतवर्ष नै डेरी स्थापना गरिएको छ।
Shares

प्रतिक्रिया