समाज


कोरोनाका गम्भीर बिरामीमा रेमडिसिविर औषधि प्रयोग गर्न अनुमति

कोरोनाका गम्भीर बिरामीमा रेमडिसिविर औषधि प्रयोग गर्न अनुमति

मणि दाहाल
साउन २८, २०७७ बुधबार १४:०,

औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएको छ।

विभागले सो औषधिको क्लिनिकल ट्रायलका लागि इच्छुक अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई आवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको हो।

कोरोना संक्रमणबाट गम्भीर अवस्था पुगेका बिरामीको ज्यान बचाउन यो औषधि प्रयोग गरिन्छ। यसले गम्भीर अवस्थामा रहेका बिरामीका स्वास्थ्यमा छिटो सुधार ल्याउने सहयोग गर्ने चिकित्सकहरुले बताएका छन्। तर यो कोभिड १९ लाई निको बनाउने औषधि भने होइन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले विभागले औषधि चलाउने विभागहरुको नाम उपलब्ध गराउने बित्तिकै यसको क्लिनिकल परीक्षण सुरु गर्न सकिने बताए।

‘अनुसन्धानका लागि आवश्यक कार्यविधिसहितका विषयहरुलाई परिषदले पूर्ण तयारी गरेको छ,’ ज्ञवालीले भने, ‘विभागले कम्पनीका नाम उपलब्ध गराउनेबित्तिकै यसमा काम सुरु हुन्छ।’

डा. ज्ञवालीले यो औषधिका लागि स्वास्थ्य मन्त्रालयले रकम उपलब्ध गराउने बताए।

‘प्लाज्मा थेरापीका लागि तयारी रहेका अस्पतालहरुमै यो औषधिको पनि अनुसन्धान हुनेछ,’ ज्ञवालीले भने।

परिषदले प्लाज्मा थेरापीका लागि तीन निजी र नौ सरकारी अस्पताललाई अनुमति दिएको थियो।

अमेरिकाले वैशाख २० तथा दक्षिण कोरिया र भारतले जेठ २१ गते कोरोना संक्रमणका गम्भीर बिरामीमा रेमडिसिविर प्रयोग गर्न अनुमित दिएको थियो। रेमडिसिविर हालसम्म उपलब्ध औषधिमध्ये सबैभन्दा प्रभावकारी एन्टिभाइरल औषधि मानिन्छ। यो इबोलाको उपचार गर्न बनाइएको औषधि हो।

‘अहिलेसम्मका कोरोनाका उपचारमा प्रयोग गरिएकामध्ये रेमडिसिविर सबैभन्दा प्रभावकारी एन्टिभाइरल औषधि हो। अहिले विभागले जति अनुमति दिएको छ, त्यसले आफँै अध्ययन अनुसन्धान गर्न सक्षम अस्पतालहरुलाई खुला गरेको छ। तर काठमाडौंबाहिरका बिरामीले यसबाट उपचार पाउन कठिन हुन्छ भन्ने लाग्छ,’ ग्राण्डी अस्पताल क्रिटिकल युनिटका प्रमुख डा. प्रभात अधिकारीले भने, ‘सबैको पहुँचमा पुग्दैन कि भन्ने चिन्ता हो।’

अधिकारीले औषधिको प्रयोग म्बन्धी कानुनमै रहेको कमीको कारण समस्या आएको बताए।

‘हाम्रो कानुन नै पुरानो छ। जटिल प्रकारका बिरामीको जीवन बचाउने औषधिसम्बन्धी कानुनमा संशोधन गर्न आवश्यक छ,’ डा. अधिकारीले भने, ‘राजनीतिज्ञ तथा सांसदहरुले यस्तै बेलामा आफ्नो भूमिका देखाउनु पर्ने हो।’

कोरोना संक्रमणपछि गम्भीर अवस्थामा रहेका विराटनगरका एक चिकित्सकलाई प्लाज्मा थेरापीअघि यो औषधि दिइएको थियो। ती बिरामीका परिवारले प्लेन चार्टर गरेर भारतबाट सो औषधि नेपाल ल्याएको थियो।

नेपालमै जटिल प्रकारका कोरोना संक्रमितहरु देखिँदा समेत औषधि ल्याउन विभागले अनुमति नदिएको भन्दै स्वास्थ्य क्षेत्रबाट यसको आलोचना हुँदै आएको थियो। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को उपचारका लागि जारी गरेको निर्देशिकामा समेत आपतकालीन अवस्थामा यो औषधि प्रयोग गर्न सक्ने उल्लेख छ।

भारत र बंगलादेश यसको उत्पादन हुने गरेको छ।

‘यो औषधि निर्माण गर्न आवश्यक कच्चा पदार्थहरु चीनबाट ल्याउन सकिन्छ,’ डा. अधिकारीले भने, ‘प्रयोगको अनुमतिका लागि यति धेरै झन्झट छ भने उत्पादनको विषय त परको कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .