अमेरिकाको नागरिकता त्याग्ने मानिसको संख्या अहिलेसम्मकै उच्च पाइएको छ।
न्युयोर्कस्थित बेमब्रिज अकाउन्टेन्टले आइतबार प्रकाशन गरेको अध्ययनअनुसार सन् २०२० को पहिलो ६ महिनामै ५ हजार ८ सय अमेरिकी नागरिकले नागरिकता त्याग गरेका हुन्।
अघिल्लो वर्षभरि जम्म्मा २ हजार ९२ अमेरिकीले नागरिकता छाडेका थिए। यस आधारमा यो वर्ष त्यसको संख्या अहिलेसम्मकै उच्च देखिएको हो।
सीएनएनमा प्रकाशित समाचारअनुसार विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधि र कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्ट नागरिकले अमेरिकी नागरिकता त्याग गरेको बेमब्रिज अकाउन्टेन्टकाे साझेदार एलिस्टर बेमब्रिजले जनाएकाे छ।
राजनीतिक माहोलका कारण पनि पछिल्लो समय धेरै मानिस अमेरिकाबाट बाहिरिने क्रम बढेको समचारमा उल्लेख छ।
नागरिकता छाडेका धेरैजसोले अमेरिकाको पछिल्लो वातावरणबाट आफूहरू खुसी नभएको र करसम्बन्धी व्यवस्था अर्काे मुख्य कारण भएकाे बेमब्रिजले जनाएको छ। विदेशमा बस्दा पनि अमेरिकी नागरिकले अमेरिकामा हरेक वर्ष कर तिर्नैपर्ने प्रावधान छ।
अमेरिकाकाे नागरिकता त्याग्ने क्रम अब केही वर्षसम्म बढिरहने बेमब्रिजले जनाएकाे छ।

प्रतिक्रिया