रोल्पाको रुन्टिगढी गाउँपालिका-६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको विषयलाई लिएर १४ युवा पक्राउ परेका छन्।
कुटपिटबाट सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतको मृत्यु भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पक्राउ पर्नेमा स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी छन्।
छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा बस्नेतमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटबाट बस्नेतको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
बस्नेतले पाँच हजार र घडी लुटेको आरोप टेकबहादुर बस्नेतले लगाएका छन्। इलाका प्रहरी कार्यालय होलेरीका अनुसार बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले थप उपचारमा लागि बाहिर लैजान रिफर गरेको थियो।
उपचारको लागि अन्यत्र लैजाँदै गर्दा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया