ad ad

समाज


विज्ञ भन्छन्ः संक्रमण हटेको छैन, नागरिकले आफ्नो ज्यान आफैँ बचाऔँ

विज्ञ भन्छन्ः संक्रमण हटेको छैन, नागरिकले आफ्नो ज्यान आफैँ बचाऔँ

नेपालखबर
साउन ७, २०७७ बुधबार १३:४८,

सरकारले लकडाउन खुला गरेसँगै अब नागरिकले आफ्नो ज्यान जोगाउने जिम्मा आफैँले लिनुपर्ने अवस्था देखिएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्।

सरकारले मंगलबार मध्यराति देखि १ सय २० दिन लामो लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो। चैत ११ गतेबाट सुरु भएको लकडाउन खोल्ने निर्णय भएसँगै काठमाडौं उपत्यका कोरोनापूर्वकै अवस्थामा फर्किन थालेको छ।

सरकारले साउन १५ गतेबाट होटल, रेस्टुराँ, ट्राभल तथा टे«किङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ। विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट सुरु हुने छन्।

भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्ने निर्णय भएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ।

भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले लकडाउन हटेसँगै चारैतिर भिडभाड देखिन सुरु भएको भन्दै नागरिक आफँैले आफूलाई बचाउनुपर्नेमा जोड दिइन्।

‘लकडाउन हटेसँग अब चारैतिर अव्यवस्था, भीडभाड सिर्जना हुनेछ। अब हामीले आफैँलाई कोरोना भाइरसबाट जोगाउने जिम्मेवारी आएको छ,’ उनले ट्विटरमा लेखेकी छिन, ‘हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने तथा भीडभाड हुने क्षेत्रबाट बच्ने गर्नुपर्छ।’

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले वास्तविक अवस्था थाहा नपाई गरिएको यो निर्णयले जनस्वास्थ्यमा संकट ल्याउनसक्ने भएकाले नागरिक स्वयं सचेत हुनुपर्ने जनाए।

‘समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाई गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ,’ डा. पाण्डेले भने, ‘व्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनसक्छ।’

उनले ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्यकामा संक्रमित देखिने क्रम नरोकिएको, परीक्षणको दायरा एकदम साँघुरो भएको र छिमेकी देश भारतमा कोरोना संक्रमण व्यापक फैलिएकाले संकट विद्यमान रहेको बताए।

उनले आम नागरिकलाई सकभर घरमै बस्न, घरबाहिर निस्किँदा सही तरिकाले मास्क लगाउन, भीडभाडमा नजान, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दूरी कायम गर्न, आवश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्न तथा भोजभतेर गरेर मानिसहरु भेला नहुन नागरिकहरुलाई अनुरोध गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले लकडाउन हटाउने निर्णय कोरोनाको संक्रमण घटेकाले नभएर जनजीवन सहज बनाउन भएको बताए।

‘लामो समय लकडाउन हुँदा जनजीवनमा पारेको प्रभावलाई सहजीकरण गर्न लकडाउन हटाइएको हो,’ गौतमले भने, ‘छिमेकी देश भारत लगायत अन्य देशमा लकडाउन खुकुलो भएपछि तथा यातायात चलेपछि संक्रमण बढेको छ। त्यसैले तोकिएका जनस्वास्थ्य मापदण्ड अपनाउन सबैले सचेत हुनुपर्छ।’

छिमेकी देशमा जोखिम बढ्नु, विदेशबाट आउने क्रम नरोकिनु, जनघनत्व धेरै भएको ठाउँमा भीडभाड बढ्नुले संक्रमणको जोखिम उत्तिकै रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .