ad ad

समाज


न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

नेपालखबर
साउन ४, २०७७ आइतबार १२:४७,

न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ। आइतबार (आज) बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ। मुख्यगरी प्रदेश २, ५, गण्डकी, बागमतीका धेरै स्थानमा वर्षा भएको छ। रातिदेखि भने अझै वर्षा थपिने सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटाले बताए।

विभागका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १ तथा प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार बिहानदेखि भने मनसुन थप सक्रिय भएर थप वर्षा गराउने विभागले जनाएको छ। कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैले बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन अनुरोध गरिएको छ। मौसमविद्का अनुसार सोमबार साँझ या मंगलबार न्यूनचापीय रेखाले नेपाल छुने भएकाले भारी वर्ष निम्त्याउने छ। यही साउन ८ गतेदेखि विस्तारै दक्षिण जाने जनाइएको छ।

प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषतभन्दा बढी अर्थात् २३० प्रतिशत पानी परिसकेको छ। प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ। मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले योपटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु अनिल पोखरेलले बताए।

यसबेला पुरानो पहिरो सक्रिय हुने, भूकम्पले क्षति पु¥याएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुनेछ। मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकैपटक बगेर पहिराको रुप पनि लिन सक्नेछ। त्यहाँबाट बगेको पानीले नदीनालाको सतह बढाउनेछ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, नारायणी, बूढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीमा उल्लेख्यमात्रामा जलसतह बढ्नेछ।

केही नदीले सतर्कता तह पार गर्ने अनुमान छ। ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने ससाना नदी नालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ। साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने अनुमान छ। केही नदी सतर्कता तह आसपास पुग्नेछन्।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ। यसअघि असार २५ देखि २९ गतेसम्म पनि यसैगरी मनसुन सक्रिय हुँदा ठूलो जनधनको क्षति भएको थियो। वैशाखयता मुलुकभर विपद्जन्य घटनाबाट १६० ले ज्यान गुमाइसकेका छन् भने ५२ जना हराइरहेका छन्। यसपाली पहिराले धेरै मानिसको ज्यान लिएको छ। पर्वत, बझाङ, सिन्धुपाल्चोक, जाजरकोट, कास्कीलगायत जिल्लामा अकल्पनिय पहिरो खसेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .