समाज


पहिरोबाट जोगिएका धनबहादुर भन्छन्- तान्दातान्दै श्रीमती र छोरी पुरिए

पहिरोबाट जोगिएका धनबहादुर भन्छन्- तान्दातान्दै श्रीमती र छोरी पुरिए

सन्तोष गौतम
असार २८, २०७७ आइतबार ३:५९,

म्याग्दीको धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना थियो। तर, उज्यालो हुन नपाउँदै खसेको पहिरोले उनको योजना पूरा हुन पाएन।

‘बिहानै मेलामा जाने योजना थियो। जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो।’ पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिँदै छन्।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए। करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए।

‘खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरी छन्।’ पहिरोमा घाइते भएका गाउँका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए। घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए।

‘मामाले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ’, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भनिन्, ‘पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु¥यो । हामीलाई पनि भाग्दाभाग्दै खसेको ढंगाले चोट लाग्यो।’

धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए।

यसैबीच म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबारदेखि ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको छ। गाउँपालिकाको अगुवाइमा शनिबार बेनी, पिप्ले र भगवतीका युवाले श्रमदान गरेर ग्याबियन पर्खाल लगाएका हुन्।

जोखिमयुक्त ठाउँमा १० थान जाली भरिएको छ । पचास देखि ६० युवाले श्रमदान गरेर सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

रघुगङ्गा नदीले कटान गरेको ठाउँमा थप क्षति हुन नदिनका लागि ग्याबियन पर्खालका साथै बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा ठूला ढुङ्गा थुपारिएको छ। अध्यक्ष भण्डारी आफैँ पनि युवाहरुसँग श्रमदान गरेर ढुङ्गा फुटाउने र पर्खाल लगाउने ठाउँसम्म पु¥याउने काममा खटिएका छन्।

रघुगङ्गा नदीमा शनिबार आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएको छ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर कटानको जोखिमका कारण विस्थापित भएका छन्।

स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको छ । ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको स्थानीयवासीले बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad