अघिल्लो दिन खेतबारीको कामले अति थाकेपछि रातभर एक निद्रा पनि नब्युँझी २६ गते बिहानै आँखा खुले।
बिहान भीषण वर्षा भइरहेको थियो। त्यति बेला बिहानको ७ बजेको थियो । भीषण वर्षाका कारण बिहान रात परेको जस्तै भएको थियो। वर्षाले चारैतिरका पहाडमा पहिरो जाला जस्तो भएको थियो। सधैँ पानी परिरहने ठाउँ भएकाले खासै मतलब नगरी घरको कामधन्दामा लागिरहेँ।
काम गर्दागर्दै एक्कासि पहाड नै आए जस्तो गरी जमिन थर्कियो। यसो माथितिर हेरेको मात्र के थिएँ, माथिबाट पहाड नै खसे जस्तो गरी बाढीपहिरो र बाक्लो लेदो आयो।
आजको गोरखापत्र दैनिकमा सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा परेर घाइते भएका ५७ वर्षीय नाप्चे मगरको अनुभव चित्र मिजारले लेखेका छन्।
उनी अगाडि भन्छन्- पहिरोले पुरिएर मरिन्छ भन्ने लागेर तुरुन्तै भागेँ । मभन्दा अगाडि छिमेकी पनि भाग्दै थिए । म पनि उनीहरूसँगै भाग्न थालेँ । मभन्दा अगाडि भाग्ने मान्छेलाई त्यसले छुन सकेन । मलाई भने छपक्कै छोप्यो।
म त्यहाँबाट निस्कनै सकिन । साथीहरू कोही पनि मलाई निकाल्न आएनन् । सबै ज्यान जोगाउन भागिरहे । मेलै गुहार मागेँ, बचाउनोस् भनेँ तर बाढी र माटोको लेदोले मलाई बगाइरह्यो । अब बाँच्दिन भन्ने निश्चित भयो।
बगाउँदै गर्दा मेरो टाउको, हातखुट्टा र शरीरका सबै भागमा ठक्कर लाग्यो। मैले भगवान् सम्झन थाले । लेदोले मलाई कहाँ लग्यो थाहा भएन । पछि बेहोस भएछु । होसमा आउँदा घरमुनि करिब ५ सय मिटर तल बारीको पाटामा थिएँ। यो बारीसँगै भोटेकोसी नदी छ। पछि होस खुल्यो। मलाई भगवान्ले बचाउनुभयो।
माथिका यी भनाइ असार २६ गते भोटेकोसी गाउँपालिका–५ को लार्चा भन्ने स्थानमा भीषण वर्षाका कारण बाढी र लेदो माटोले बगाएर बाँच्न सफल ५७ वर्षीय नाप्चे मगरको हो। उनलाई २६ गते बिहानै ७ बजे फुङ्माचे ठाडोखोलाबाट आएको बाढी र लेदोले बगाएको थियो।
बाढी रोकिएपछि करिब १० घन्टापछि उनी बगेको ठाँउबाट निस्केर बाँच्न सफल भएका हुन्। मगरलाई उद्धार गर्न दिनभर लागेको भोटेकोसी गाउँपालिका–३ का वडा सदस्य सार्की लामाले जानकारी दिँदै नाप्चे बाँचेर फर्किदा गाउँ नै रमाएको बताए।

प्रतिक्रिया