समाज


इन्द्रावती र त्रियुगाले बगाउँदा एकको मृत्यु, तीन जना बेपत्ता

इन्द्रावती र त्रियुगाले बगाउँदा एकको मृत्यु, तीन जना बेपत्ता

नेपालखबर
असार २८, २०७७ आइतबार ४:१८,

काभ्रे र उदयपुरमा बाढीले बगाउँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक बालकसहित तीनजना बेपत्ता भएका छन्।

इन्द्रावती नदीले बगाउँदा काभ्रेका मण्डनदेउपुर नगरपालिमा १२ वर्षीय बालकसहित तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीले बगाउँदा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।

शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएका वडाध्यक्ष विष्णु नेपालले जानकारी दिए।

त्यसैगरी शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक पनि इन्द्रावती नदीमै बेपत्ता भएका छन्। अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन्।

माझीको सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडाध्यक्ष नेपालले बताए। ‘राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ,’ उनले भने।

शनिबार साँझदेखि नै स्थानीयवासी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा पनि बाढीमा बेपत्तालाई भेट्टाउन सकिएको छैन।

अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको छ। स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिको संलग्नतामा खोजी भइरहेको छ। दुई जिल्लाको सीमा भएर बग्ने इन्द्रावती नदीको बीचमा सयौँ रोपनी खेत भएका कारण बर्सेनि वर्षायाममा स्थानीयले जोखिम मोलेर रोपाइँ गर्दै आएका छन्।

यसबैबीच शनिबार साँझ त्रियुगा नदीमा आएको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई बाढीले बगाएको हो।

बाढीले बगाएलगत्तै देउरीका केही स्थानीयवासीले खोजी शुरु गरेका थिए। घटनास्थलभन्दा सात सय मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेका जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

शनिबार साँझ नै चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad