हालै वैज्ञानिकको एक समूहले हावाबाट पनि कोरोना भाइरस मानिसमा फैलिरहेको प्रमाण पाएको बताएकाे छ। जसमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि सहमति जनाइसकेको छ ।
३२ देशका २३९ वैज्ञानिकले कोरोना भाइरस हावामा मिसिएको र त्यस्तो वातावरण बस्ने मानिसलाई संक्रमण सरिरहेको दाबी गर्दै यससम्बन्धी सुरक्षा मार्गनिर्देशन नै परिवर्तन गर्नुपर्ने सुझाव (डब्लूएचओ) लाई दिएका छन्।
याे पनि: ३२ देशका वैज्ञानिककाे दाबी: हावाबाट पनि कोरोना सरेको प्रमाण भेट्टायौं
डब्लूएचओले पनि यो कुरा अस्वीकार गर्न नसकिने तर यसको प्रमाण संकलन गर्ने काम जारी रहेको जनाएको छ।
याे पनि: डब्लूएचओले हावाबाट कोरोना फैलन्छ भन्ने तथ्यलाई स्वीकार्यो
यो नयाँ तथ्यले विश्वमा कोरोना त्रास झन् बढाएको छ। यसै सन्दर्भमा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले सर्वसाधारणलाई सल्लाह दिएका छन्।
उनले आफ्नो फेसबुकमा ती वैज्ञानिकले बनाएका चित्र राखेर कस्तो ठाउँमा हावाबाट कोरोना सर्छ भने सरल भाषामा बुझाउने प्रयास गरेका हुन्।
डा. पुनले लेखेका छन्, ‘विश्वका २३९ वैज्ञानिकहरूले संयुक्त रूपमा कोरोना भाइरस हावाबाट सर्ने दाबी गरिरहेका छन्। यसका लागि उनीहरूले बच्ने उपाय पनि सुझाएका छन्। त्यो भनेको कोठामा हावा राम्रोसँग आवतजावत गर्न सक्ने व्यवस्था (भेन्टिलेसन) गर्नुपर्ने भन्ने हो। अर्थात् धेरै मानिस जम्मा भएको कोठाको झ्याल/ढोका हावा आवतजावत गर्नसक्ने गरी खुला हुनुपर्छ भनिएको हो। मास्क अनिवार्य लगाउने हो। यहाँ देखाइएको आकृति सोही संयुक्त वैज्ञानिकहरूले प्रकाशित गरेको खुलापत्रमा प्रकाशित गरिएको हो।’


प्रतिक्रिया