आज (शुक्रबार) दिउँसो तथा राति देशभर सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि झरी परिरहेको छ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनुसार आज दिउँसो सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी रहेनछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार बिहान ६ बजे महाशाखाले जारी गरेकाे बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनिएकाे छ:
देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
याे पनि: एक हप्ता देशभर बाढीको जोखिम, यस्तो छ जलविज्ञको विश्लेषण
आगामी तीन दिन वषा जारी रहने
मनसुनको न्यून चापीय रेखा नेपालनजिकै रहेकाले आगामी तीन दिन देशभर वर्षा व्यापक हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानै जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन (शुक्रबारदेखि आइतबारसम्म) देशभर वर्षा जारी रहने सम्भावना छ।
देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म र थोरै ठाउँमा भारी वर्षासमेतको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
‘अहिले मनसुन अलि सक्रिय भएको छ,’ मौसमविद् विभूति पोखरेलले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘त्यस्तो अत्यधिक वा आत्तिने किसिमकै वर्षाचाहिँ होइन, तर आगामी तीन दिन वर्षा अलि बढी हुने देखिन्छ।’
उनका अनुसार बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले सतर्कता भने अपनाउनैपर्ने हु्न्छ।
Shares

प्रतिक्रिया