समाज


काठमाडौँमा अर्का व्यक्तिले गरे आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँमा अर्का व्यक्तिले गरे आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार जारी

नेपालखबर
असार २७, २०८३ शनिबार ९:३१, काठमाडौँ

काठमाडौँको बुद्धनगरमा आज (शनिबार) बिहान एकजनाले आत्मदाहको प्रयास गरेका छन्।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरभित्र ४५ वर्षीय आश्विन राउतले पेट्रोल छर्किएर शरीरमा आगो लगाएका हुन्।

‘घटना आज बिहान सवा ६ बजेतिरहको हो। भान्साकोठामा उहाँले आफैँले आफैँलाई आगो लगाउनुभएछ’, एसपी भट्टराईले नेपालखबरसँग भने, ‘श्रीमती र छोरासहित बस्नु हुँदो रहेछ। तर घटनाका बेला उहाँहरू घरमा हुन हुन्न रहेछ। हिजो (शुक्रबार) उनको छोरासँग डिस्कस भएको बुझिएको छ।’

राउतलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल पुर्‍याएको छ।

‘चिकित्सकले उनको शरीर ५० प्रतिशत जलेको बताएका छन्’, एसपी भट्टराईले भने, ‘उपचार जारी छ। घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ।’

काठमाडौँमा त्यसैगरी शरीरमा आगो लगाउँदा हिजो मात्र मुगुका गणेश नेपालीको मृत्यु भएको थियो। अघिल्लो दिन बिहीबार त्रिपुरेश्वरस्थति राहदानी विभाग परिसरमा मोटरसाइकल पार्किङका विषयमा नगर प्रहरीसँग विवाद हुँदा नेपालीले पेट्रोल छर्केर आफ्नै जिउमा आगो झोसेका थिए। 

गम्भीर घाइते अवस्थामा त्यही दिन वीर अस्पता पुर्‍याइएका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो।

यसबिच शुक्रबारै सर्लाहीका एक युवकले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। 

सर्लाहीको गौडेता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र पौडेलले बताए।

उपचारका लागि उनलाई काठमाडौँ नै ल्याइएको छ। 

उनले किन आफ्नै शरीरमा आगो लगाउनाको कारण अहिलेसम्म खुलेको छैन। अहिले उपचारमा ध्यान दिएको र कारण खुल्न बाँकी रहेको एसपी पौडेलले बताए। 

उनको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad