समाज


आज धेरै स्थानमा भीषण वर्षाको सम्भावना, ३३ जिल्लामा बाढीको जोखिम

काठमाडौँ उपत्यकामा थप भारी वर्षाको सम्भावना
आज धेरै स्थानमा भीषण वर्षाको सम्भावना, ३३ जिल्लामा बाढीको जोखिम

लमजुङको मध्यनेपाल नगरपालिका ४, ५, ६, ७ र ८ का साथै कास्कीको रुपा गाउँपालिका १, २, ६ र ७ को सीमा भएर बग्ने मादी नदीमा बाढी। तस्बिर: देवेन्द्र गुरुङ/रासस


नेपालखबर
असार २७, २०८३ शनिबार ८:४८, काठमाडौँ

आज शनिबार पनि देशभर विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला देशभर अधिकांश आकाश बादलले ढाकेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भागनजिक छ।

आज दिउँसो र राति यस्तो छ वर्षाको सम्भावना

दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी र  सुदूरपश्चिम प्रदेशका पहाडी र तराई  भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको थोरै  स्थानमा तथा तराई भूभागका एक-दुई स्थानमा  र कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

काठमाडौँ उपत्यकमा पनि थप वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज पनि दिउँसो तथा राति काठमाडौँ उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

‘दिउँसोभन्दा राति वर्षाको सम्भावना बढी छ’, उनले आज बिहान सवा ८ बजेतिर नेपालखबरसँग भनिन्, ‘तत्काल पनि काठमाडौँ उपत्यकामा फाटफुट वर्षा हुन सक्छ। तर विशेषगरी दिउँसो २/३ बजेपछाडि वर्षाको सम्भावना बढी छ।’ 

उनले थपिन् उपत्यकाका धेरैजसो स्थानमा मध्यम र एक-दुई ठाउँमा भारी पनि वर्षा हुने सम्भावना छ। 

उनका अनुसार विगत १२ घण्टामा काठमाडौँ उपत्यकाभरिजसो वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा पनि भएको छ। 

‘विगत १२ घण्टाको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा सुन्दरीजलमा ९०.४ मिलिमिटर, नागार्जुनमा ६०.८, बुढानीलकण्ठमा ५६.८, नैकापमा ५१ र साँखुमा ४९ मिलिमिटर वर्षा भएको छ। अन्य स्थानमा मध्यम वर्षा भएको छ’, उनले भनिन्। 

५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम र यसभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

आज यी जिल्लामा बाढीको जोखिम

वर्षा हुने क्रम बढेसँगै खाेला/नदीमा बाढी आउने क्रम पनि बढेको छ। 

बाढी पूर्वानुमान महाशाखाले आज देशका ३३ जिल्ला र त्यसआसपासका नदी तथा खोलामा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना छ। 

बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, आज नुवाकोट, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम साथै काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई वहने कही ससाना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।’

बाढीबारे विस्तृत जानकारी तल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad