समाज


७७ जिल्लामै सञ्चालनमा आयो विपद्का घटनासम्बन्धी सूचना दिने हटलाइन सेवा

७७ जिल्लामै सञ्चालनमा आयो विपद्का घटनासम्बन्धी सूचना दिने हटलाइन सेवा

नेपालखबर
असार २७, २०८३ शनिबार ८:४९, काठमाडौँ

विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवाका लागि गृह मन्त्रालयले हटलाइन सेवा सबै जिल्लामा विस्तार गरेको छ। 

विपदमा हुने उद्धारलाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको हो।

मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै हटलाइन सेवा सञ्चालन गर्दै आएको थियो। अब विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ।

देशका अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ।

मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने छ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो। 

सोही नीतिअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad