प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण सञ्चालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाईको उद्घाटन गरेका छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना संक्रमण रोकथामको लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु संक्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालले सञ्चालन गर्ने गरी इकाईको स्थापना हुनु सबैको लागि सुखद कुरा भएको बताए।
प्रहरी महानिरीक्षक ज्ञवालीले पीसीआर ल्यावबाट अधिक भन्दा अधिक प्रहरी कर्माचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे। साथै छोटो समयमा इकाईको स्थापना गर्न देखाएको तदरुकताका लागि नेपाल प्रहरी अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरे। प्रहरी कर्माचारीहरु कोरोनाबाट संक्रमित हुनबाट बच्न समयमा नै सजग हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले मोलेकुलर परीक्षण इकाई स्थापना गर्न उत्कृष्ठ कार्य गर्ने ८ जना प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण समेत गरे।
सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले इकाई सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै उन्नत अस्पतालको रुपमा विकास गर्न कटिबद्ध रहेको बताइन्।
उक्त इकाई कुल १ करोड १९ लाख ३९ हजार रुपैयाँको लागतमा स्थापना गरिएको हो।
Shares

प्रतिक्रिया