कोरोनाविरुद्ध औषधि बनाएको भनेर भ्रम छरेको भन्दै योग गुरु रामदेवसहित पाँच जनाविरुद्ध उजुरी परेको छ।
भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार योगगुरु रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि आयुर्वेद लिमिटेड सीईओ आचार्य बालकृष्ण, त्यसैका कर्मचारी अनुराग वार्ष्णेय, नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस) का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध प्रहरीमा उजुरी परेको हो।
पतञ्जलि कम्पनीले हालै कोरोना निको पार्ने भन्दै कारोनिल भन्ने औषधि सार्वजनिक गरेको थियो। पतञ्जलिले जयपुरस्थित एनआईएमएससँग मिलेर यो औषधि परीक्षण गरिएको र कोरोना निको पार्ने देखिएको दाबी गरेको थियो।
याे पनि: तीनदेखि सात दिनभित्रै कोरोना निको हुने औषधि बनाएको रामदेवको दाबी
केही व्यक्तिले गरेको गुनासाका आधारमा जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा वकिल बलवीर जाखडले शनिबार उनीहरूविरुद्ध उजुरी दर्ता गरेका हुन्। रामदेवसहित पाँच व्यक्तिविरुद्ध भारतीय दण्ड संहिताको धारा ४२० (धोखाधडी) र औषधि एवं चामत्कारिक उपचार (आपत्तिजनक विज्ञापन) अधिनियम, १९५४ को धारा ४ (७) बमोजिम उजुरी गरिएको हो।
उजुरीमा भनिएको छ– उक्त औषधि भारतको स्वास्थ्य मामिला हेर्ने केन्द्रीय आयुष मन्त्रालयको स्वीकृतिबिनै सार्वजनिक गरिएको हो।
वकिल जाखडको आरोप छ– न केन्द्र न राजस्थान सरकार कहीं पनि दर्ता नगरी बिनाप्रमाण कोरोना निको पार्ने भन्दै कोरोनिल औषधि सार्वजनिक गरेर आम जनताको जीवनमा खेलबाड गरिएको छ।
प्रहरीका एडिसनल कमिसनर अशोक गुप्ताले आइतबार दिएको जानकारीअनुसार उनीहरूविरुद्ध उजुरी परे पनि अहिलेसम्म कोही पक्राउ गरिएको छैन।
याे पनि: भारत सरकारले रामदेवकाे पतन्जलिलाई भन्यो : कोरोनाको औषधि पत्ता लगाएको भनी प्रचार बन्द गर

प्रतिक्रिया