छापा खबर


कटान र ढुवान : नेपालका १७ नदी बढी संवेदनशील

कटान र ढुवान : नेपालका १७ नदी बढी संवेदनशील

नेपालखबर
असार १५, २०७७ सोमबार १:१२,

नदीको बहाव बढेसँगै तराईको जनजीवनमा बाढी र डुबानको त्रास बढ्न थालेको छ।

बाढीका कारण नदीमा कटान बढेपछि तत्काल मर्मतका लागि नेपाल सरकारले उच्च चासोसँगै क्रियाशीलता देखाएको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

आपतकालीन रूपमा मर्मत सुरु गरिएको छ । दुई दिनअघि महाकाली नदीको कटान बढेपछि यस खालको प्रयास थालिएको हो।

जलउत्पन्न प्रकोप व्यवस्थापन महाशाखाअन्तर्गत नदी व्यवस्थापन शाखालाई सीमा क्षेत्रका नदीबाट हुने डुबानको अवस्था अद्यावधिक राख्न जिम्मेवारीसमेत दिइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा बाढी र डुबान पर्न सक्ने साना ठूला गरेर १४८ नदी र खोला छन् तर मुख्यरूपमा तटबन्ध रहेका १७ वटा नदी अलि बढी संवेदनशील छन्।

आइतबार झापाको कन्काई नदीले कटान गर्न थालेपछि त्यहाँका बासिन्दा सुरक्षित रहने उपाय अपनाउन थालेका छन् । नेपालमा यतिबेला तराई क्षेत्र आसपास निरन्तर वर्षा भइरहेको छ । साथै पहाडी भूभागमा पनि बदलीकै अवस्थामा केहीबेर रोकिँदै वर्षा हुने क्रम जारी छ । मनसुन सुरु भएको १६ दिन मात्र पुगेको छ तर नेपालका साना ठूला नदीमा पानीको सतह बढ्न थालिसकेको छ।

दुई दिनअघि मात्र बाढीका कारण महाकाली नदीमा कटान बढेको छ । त्यहाँ नेपालतर्फको बाँध बाढीले कटान गरिरहेको छ, मर्मत तत्काल गर्नुपर्छ भनेर निर्देशन दिइसकेका छौँ, आपतकालीन रूपमा मर्मत सुरु भएको छ, नदी व्यवस्थापन शाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले जानकारी दिए।

नेपाल हुँदै भारत भएर बग्ने विभिन्न क्षेत्रका सीमा नदीमा समस्या भइरहेको यादवले बताए। गण्डक नदीमा भारतले वर्षाअघि नै मर्मत सम्भार गर्नुपर्ने थियो । वर्षा सुरु हुने बेलामा मर्मत सुरु भयो तर कोरोना भाइरस रोगको अप्ठ्यारोका कारण एक दिन मात्र त्यहाँ काम रोकिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad